ईलाम ,१८ जेठ । इलाम नगरपालिका वडा नम्बर–११ सोयाक आलेटारमा ट्रकको ठक्करबाट एक स्थानीय पैदलयात्रीको घटनास्थलमै ज्यान गएको छ ।
बिर्तामोडबाट मंगलबारेतर्फ खाद्यान्न बोकेर जादै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले आज विहान ८:३० बजे सोयाक कार्तिकेका ८६ बर्षिय पदमबहादुर तामाङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक अहिले सोही स्थानमा प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रक चालकले घटनापछि आफै चिसापानी प्रहरी चौकी माई–९ मा आई घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका छन्।
यसैबीच पैदलयात्री तामाङको मृत्युपछि मृतकका आफन्तले क्षतिपूर्ति नदिएसम्म सडकबाट शव उठाउन र ट्रकलाई अन्यत्र लैजान दिएका छैनन् ।सहमतिका लागि वार्ता भईरहेको छ। क्षतिपूर्ति दिने विषयमा टुङ्गो लाग्न लागेको मृतकका नाति कमल तामाङले जानकारी दिए ।