दमक,१७ जेठ । झापाको कमल गाउँपालिका वडा न. ४ ले वन क्षेत्रमा फलामे पूल निर्माण गरेको छ । त्यहाँस्थित रतुवामाई वृक्षारोपण आयोजनाको वन भित्र रहेको किराँतीहरुको समाधिस्थल तर्फ आउजाउ गर्न फलामे पुल निर्माण गरिएको वडा कार्यालयको जनाएको छ ।
वडाअध्यक्ष चन्द्रप्रसाद भट्टराईले वडाको ४ लाख ५० हजार र थप पालिकाको रु १ लाख ५० रुपैया गरि ६ लाखको लागतमा फलामे पुल बनाइएको बताए । बर्षायाममा खोल्सीका कारण घाटस्थलसम्म जाउतजाउतमा निकै कठिनाई भोग्नुपरेकाले वडाले त्यहाँ पुल निर्माण गरिएको अध्यक्ष भट्टराईले बताए ।
वडास्तरिय योजना अनुसार ३५ फिट लामो उक्त पुल बनाउन स्थानीय राजन राईको संयोजकत्वमा एक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समितिले पुल निर्माणमा विनीयोजित वजेट अपुग भएपछि वडाले पालिकामार्फत थप १ लाख ५० वजेट उपलव्ध गरिएको वडाअध्यक्ष भट्टराईले बताए । किरात धर्मावलम्बीहरुले बर्षोदेखि त्यस आयोजनाको जंगल परिसरमा दाहसंस्कार गरिआएका छन् ।
पुलमा प्राविधिक कमजोर
चालु वर्षको वजेटबाट निर्माण गरिएको सो फलामे पुल प्राविधिक रुपमा कमजोर भएको पाईएको छ । खोल्सीमै निर्माण गरिएको पुल गहिरो ठाउँमा हुदाँ बर्षायाममा आउने भेल बाढीले पुलनै जोखिम अवस्थामा पाईएको हो ।
पालिकाका इन्जिनीयर सागर यादवले लागत अनुसार प्राविधिक रुपमा फलामे पुल कमजोर देखिएपनि आवश्यकता भएको बताउँछन् । घाटसम्म आउजाउ गर्न बर्षायामका समयमा भने खोल्सीका कारण समस्या हुन्थ्यो, त्यसलाई मध्यनजर गरेर पुल निर्माण गरिएको उनले सुनाए । बर्षायाममा खोल्सीमा आउने बाढीले पुलको संरचनानै असर पुग्न सक्ने नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्वअध्यक्ष पारषमणि राई बताउँछन् । पुलको बनावट हेर्दा खासै उपयोगी होलान जस्तो नदेखिएको उनको भनाई छ ।