
दमक,१७ जेठ । स्थानीय तहको निर्वाचनमा दमक १ मा नेपाली कांग्रेस भित्र अन्तरघात भएको विषयमा प्रकाशित समाचार प्रति नेपाली कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशवाणी डटकम अनलाइनमा सो सम्बन्धी समाचार प्रकाशित भएपछि उनीहरुले त्यस प्रकाशित समाचार प्रति आपत्ति जनाउदै समाचारको खण्डन गरेका हुन् ।
समाचारमा दमक १ मा कांग्रेस भित्रबाट नै अन्तरघातका कारण गठबन्धनका उम्मेदवार पराजित भएको उल्लेख छ । समाचारमा आफनो नाम जोडिएपछि कांग्रेस महाधिबेशन प्रतिनिधि शुरेस सुब्बा, रमा लिम्बू, वडा सभापति गजेन देवान, पार्टी नगर सभापति प्रकाश प्रसाई लगायतका नेताहरुले अन्तरघात भए,नभएको यकिन भईनसकेको अवस्थामा एकतर्फी समाचार आउनु उपयुक्त नभएको बताएका छन् । पाँच दलीय गठबन्धनको गठित निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका दमक १ निवासी सुरेस सुब्बाले अन्तरघात सम्बन्धी आफनो नाम आएकोमा गंभीर आपत्ति रहेको र त्यस्ता भ्रामक समाचार माथि कुनै विश्वसनीयता नभएको स्पष्ट पारे । यसले पार्टी भित्र थप असन्तुष्टि जन्माएको उनले जिकीर गरे ।
सुब्बाले आफनो राजनीतिक जीवन कांग्रेसमा विताएकाले अनावश्यक विषयमा नाम जोडिनु स्वीकार्य नभएको भन्दै त्यस्ता भ्रममा नपर्न कांग्रेस कार्यकर्ताहरुमा आग्रह गरेका छन् ।
यसैगरि , कांग्रेस नेतृ रमा लिम्बूले आफनो नाम अन्तरघातमा समावेश गरेर आफनो राजनीतिक क्यारियर समाप्त गर्न चलखेल भएको उल्लेख गरिन् । –‘मैले कुनै अन्तरघात गरेको छैन्, ’उनले भनिन् –‘चुनावी समिक्षा नभएको अवस्थामा कसैको उक्साहटमा त्यस्तो समाचार आउनु ठिक होइन्,त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु ’
त्यसैगरि वडा सभापति गजेन देवानले पनि चुनावी समिक्षा हुन नसकेको अवस्थामा कोकोबाट घात भयो भनेर समाचार आउनु ठिक नभएको उल्लेख गरे । समाचार जस्तो वडामा घात नभएको र आफूलाई नसोधि समाचार आउनु ठिक नभएको उनले दावी गरे ।
यता , कांग्रेस दमकको नेतृत्व गरिआएका सभापति प्रकाश प्रसाईले पनि चुनावी समिक्षा वडा तहमा भईनसकेको अवस्थामा जसरी समाचार आयो, त्यो भ्रम मात्र भएको जिकीर गरे । समाचार लेख्न,नलेख्न आफनो दवाव नभएको भन्दै सभापति प्रसाइले तर समाचार सत्यतथ्य हुनुपर्ने सुझाए ।
दमक १ को वडाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु पार्टीका केहि नेताहरुको असहयोगका कारण गठबन्धनले लज्जास्पद पराजय व्यहोर्नुपरेको थियो । गठबन्धनले दमकका १० वटा मध्ये मेयर, उपमेयरसहित अन्य २ वटा वडामा कांग्रेस र एउटा वडा राप्रपाले जितेको थियो ।