
बिर्तामोड ,१६ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना पत्रकारलाई सम्मान गरेको छ । संघको सोमबार अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका कञ्चनजंघा एफएमका सम्पादक भट्टराई र पूर्वाञ्चल दैनिकका फोटो पत्रकार पाण्डेलाई साधारण सभाको अवसर पारेर सम्मान गरिएको हो । पाण्डे महासंघका कार्यसमिति सदस्य हुन् ।
पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले दोसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।
सरकारद्वारा प्रस्तुत बजेट उद्योगी र ब्यवसायीको पक्षमा
सरकारद्वारा प्रस्तुत बजेट उद्योगी र ब्यवसायीको पक्षमा भएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको पाँचौ साधारण सभाको उद्घाटन गर्दे ढकालले नीजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै वजेट कार्यान्वयनमा जोड दिए ।
त्यस अवसरमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले बिर्तामोडको विकास समृद्धिका लागि उद्योग वाणिज्य संघ सबैसंग हातेमालो गर्न तयार रहेको बताए । संघले साधारणसभामार्फत विभिन्न भावी योजनाहरु अघि सारेको छ । संघका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघलाई आर्थिक रुपमा अझ दरिलो बनाउनका लागि संघको भुइँतला तथा पश्चिम र उत्तरको कम्पाउन्डवालको ठाउँमा सटरसहितको कोठा तयार गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाउने भएको छ ।
प्रत्येक सपिङमल, कम्प्लेक्स, मार्केट तथा अत्यधिक कारोबार हुने स्थानमा सुझाव पेटिका स्थापना गर्ने, बिर्तामोड नगरपालिका र उद्योग वाणिज्य संघको संयुक्त साझेदारी तथा समन्वयमा जनचेतनामुलक कार्यक्रम, उत्पादनमुलक कार्यक्रमहरु सञ्चालन गर्ने संघले योजना बनाएको छ । त्यस्तै, बिर्तामोड नगर क्षेत्रका विभिन्न स्थानमा रुखबिरुवा राप्ने तथा भद्रपुररोड सडकको बीच भागको रोड डिभाइडरमा फूलबगैँचा स्थापना गर्ने प्रतिवेदनमा उल्लेख छ ।