बिर्तामोड,१७ जेठ । झापाको बिर्तामोड नगरपालिका–४ कि ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् ।गत बैशाख २६ गते राति बिष्टको हत्या भएको थियो । हत्यामा संलग्न बिर्तामोड नगरपालिका– ४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा नगरपालिका–६ का ४३ वर्षीय धनबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
करिब तीन सातापछि उनीहरुलाई पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । हत्या लगत्तै प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
अनुसन्धानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो प्रदेश अनुसन्धान समूह (पिआइटी) विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान गरेको थियो । बिर्तामोड–४ स्थित शिवनगर टोलमा घरमा एक्लै बस्दै आएकी ६७ वर्षीया बिष्टको हत्या गरी उनीहरुले विभिन्न सामग्री समेत चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नको साथबाट नट खोल्ने रेञ्ज, मार्तोल लगायतका तीन थान सामग्री, सुनको सिक्का भएको बेरुवा औठी एक थान, सुनको हातमा लगाउने बाला एक थान, सुनको जन्तर एक थान, सुनको सिक्री एक थान, सुनको टप एक थान र चाँदीको कलश एक थान बरामद गरेको छ । बिष्टको हत्या गरी उनीहरुले उक्त सामान चोरी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक केसीले पत्रकार सम्मेलनमा जानकारी दिए । सुनको सिक्का भएको बेरुवा औंठी सुन पसलबाट गाली सकेको अवस्थामा बरामद गर्न प्रहरी सफल भएको हो ।
चोरी गर्ने उद्देश्यका साथ आएका उनीहरुले बिष्टले चोर आएको भन्दै छोरालाई फोन मार्फत जानकारी गराएपछि केही समय लुकेका थिए । उनीहरुले पुनः घरमा प्रवेश गरी बिष्टको हत्या गर्नुका साथै सामानहरु चोरेर फरार भएका थिए । सामान चोरेर भाग्नेक्रममा बिष्टले देखेपछि रडले टाउकोमा प्रहार गरी उनको हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ ।