दमक,१७ जेठ । विद्यालयको दुर्व्यवहारका कारण विष खाएकी झापाको कमल गाउँपालिका ५ स्थित मंगलमय माविकी एक छात्राको उपचार खर्च अभाव भएको छ ।विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा इक्सा लिम्बूको मोबाइल विद्यालयले खोसेको निहुँमा उनले गत बैशाख २० गते विष खाएकी थिइन् ।
विद्यालयले विभिन्न आरोप लगाउँदै अभिभावकलाई सुनाएपछि उनले विष सेवन गरेको परिवारको आरोप छ ।इलामको माई नगरपालिका घर भएकी लिम्बूको आर्थिक अवस्था कमजोर भएपछि पाँच वर्षदेखि कमल–५ स्थित सानीआमा सन्ध्या जवेगूको घरमा बसेर पढ्दै आएकी थिइन् ।
बैशाख २० गते विद्यालयमा मोबाइल लिएर पुगेपछि मंगलमय माविले उनको मोबाइल खोसिदिएको थियो । त्यसपछि घर फर्किए लगत्तै विष सेवन गरेकी लिम्बूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो ।
दमक अस्पतालले आफूले नसक्ने भन्दै लिम्बूलाई दमकस्थित लाइफलाइन अस्पताल रेफर गरेको थियो । लाइफलाइन अस्पतालबाट बिरामीका आफन्तले इक्सालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगेका थिए ।
त्यहाँ उनको दुई साताभन्दा लामो समयदेखि आइसियुमा राखेर उपचार भइरहेको छ । अहिले उनको अवस्था सामान्य रहेको उनका सानो बुबा बालचन्द्र जवेगूले बताए । यद्यपि, उपचार रकम अस्पताललाई तिर्न नसकेपछि आइसियुबाट नर्मल बेडमा सार्न नसकिएको उनले बताए ।
दमकको लाइफलाइन अस्पतालमा एक लाख २० हजार बिल भएको जवेगूले बताए । सानीआमाको सुन धितो राखेर र चन्दा उठाएर त्यो पैसा तिरेको र थप उपचारका लागि नोबेल लगेको उनले बताए । नोबेलको फार्मेसी र अस्पतालमा गरेर पाँच लाखभन्दा धेरै बिल भएको उनको भनाइ छ । विद्यालयले उपचारमा सहयोग गर्ने आश्वासन दिएपछि कतै उजुरी तथा हल्लाखल्ला नगरेका इक्साका परिवार अहिले विद्यालयले सहयोग गर्न आनाकानी गरेपछि समस्यामा परेका छन् ।