दमक,१५ जेठ । आज सोह्रौं गणतन्त्र दिवस । आज यो दिवसको उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
जनआन्दोलन २०६२र६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।
विक्रम संवत् २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विक्रम संवत् २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।
मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रको शुभकामना
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६ औ ‘गणतन्त्र’ दिवसको अवसरमा शुभकामना दिएका छन् ।उनले एक शुभकामना वक्तव्य जारी गर्दै नागरिकको सेवा र विकास निर्माणका लागि सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा सङ्घीय संरचनाका तीनैवटै तहबीच समन्वय गर्दै अगाडि बढ्ने काम भइरहेको उल्लेख गरेका छन् ।
राज्यको पुनः संरचना र आवधिक निर्वाचन मार्फत विगतमा सिंहदरवारमा केन्द्रित अधिकार गाउँघरमा पुगेको अनुभूति आम नागरिकले गर्न थालेको पनि उनले दाबी गरेका छन् ।सानातिना कुरालाई आधार मानेर कुनै पनि कोणबाट गणतन्त्र माथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी प्रयासहरु अनुचित भएको उनले जनाएका छन् ।
गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको दाबी गर्दै भौतिक विकास तर्फ भएको उल्लेख्य प्रगती, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका नीतिगत र संरचनागत सुधारका प्रयासहरु, नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन भइरहेको प्रयासहरु गणतन्त्रकै प्रतिफल रहेको उनले बताएका छन् ।