बिर्तामोड,१४ जेठ । सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा रेडियोकर्मी लीला अनमोल चयन भएकी छन् ।आइतवार झापाको बिर्तामोडमा भएको सञ्चारकर्मी महिलाहरुको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो ।
झापाली सञ्चारकर्मी महिलाहरुको संस्था नारी सञ्चार गृहको उपाध्यक्ष रहेकी अनमोल रेडियो विराटमा कार्यरत छिन् ।नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम, कोषाध्यक्षमा सविना सुब्बा रहेका छन् । त्यस्तै, समूहको सदस्यहरुमा सुशीला संग्रौला, रेवतादेवी भट्टराई (आर्जु), अर्चना रिजाल, सेवन्ता घिमिरे रहेकी छन् ।
सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतिथ्यमा झापा समिति बनाइएको हो ।
झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चारिका समूह नेपाल झापा शाखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष अनमोलले बताइन् ।