महामारी नियन्त्रण गर्न दमकमा महाअभियान सञ्चालन गरिने


दमक,१४ जेठ । झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ ।
दमकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने साझा संस्था दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका प्रकाश प्रसाइँको नेतृत्वमा सो महाअभियान समिति गठन गरेको हो ।
सोका लागि पहिलो चरणमा दमकस्थित सरकारी तथा सामुदायिक अस्पतालमा उच्च प्राथमिकता साथ भेन्टिलेटर सञ्चालनमा ल्याउन प्रयास गरिने बताइएको छ ।
संघको बैठकले प्रसाइँको नेतृत्वमा सोका लागि गठन गरेको समितिको सदस्य सचिवमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँलाई जिम्मेवारी दिइएको छ ।
२१ सदस्यीय सो समितिले यथाशक्य छिटो निजी क्षेत्र ( उद्योगी, व्यवसायी) तथा सामाजिक संघ संस्थाहरुसंगको सहयोगमा कम्तीमा एउटा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री अस्पताललाई सहयोग गर्ने सदस्य सचिव गुरागाइँले जानकारी दिए ।
उनले भने,–‘ हामी निजी क्षेत्रले पनि यो महामारी नियन्त्रण गर्दै बिरामीको उपचारमा सहयोग पुरयाउन योगदान गरौं भन्ने उद्धेश्यले यो कामको शुरुवात गरेका हौं ।’
सोका लागि दमक उद्योग वाणिज्य संघको कोषबाट रु एक लाख ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । त्यस्तै अन्य उद्योगी व्यवसायी नेताहरुले समेत रु २५ हजारदेखि ५१ हजार रुपैयाँ सम्म नगद सहयोग दिने क्रम शुरु भएको छ । महाअभियान समितिले यो महामारीको संकटमा देश विदेशमा रहने नेपालीलाई आआफनो स्थानबाट सकेको सहयोगका लागि पनि अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published.