विर्तामोड,१३ जेठ । झापामा आज १ सय ३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार २ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
आज झापामा सबैभन्दा धेरै विर्तामोडमा ४२, दमकमा ४० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १२८ जना पुरुष रहेका छन् । मृत्यू हुनेहरुमा भद्रपुरका २ र झापा गाउँपालिकाका १ जना रहेका छन् । योसँगै मृत्यू हुनेको संख्या २२३ पुगेको छ ।
हालसम्म ५ हजार ६ सय ३१ जना डिस्चार्ज भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३९ सय ३४ जना पुगेको छ ।
६ हजार ९३९ जना संक्रमित थपिए, ७ हजार २२६ डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ७ हजार २२६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।