
कमल,१२ जेठ । झापाका चार पालिका प्रमुखले आज बिहिबार एकसाथ सपथ लिएका छन । कमल गाउँपालिका , गौरीगञ्ज गाउँपालिका , गौरादह नगरपालिका र मेचीनगर नगरपालिकाका नवनिर्वाचित प्रमुखर अध्यक्षलाई जिल्ला अदालत झापामा जिल्ला न्यायधिस गिरिराज गौतमले सपथ ग्रहण गराएका हुन् ।
सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसहित सुरक्षा निकायका प्रमुख तथा सरकारी अधिकारी, जनप्रतिनिधि एवं राजनीतिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । आज सपथ ग्रहण लिनेहरुमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, गौरादह नगर प्रमुख छत्रपति सुवेदी र मेची नगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका छन ।
आजनै कमल गाउँपालिका बाहेकका प्रमुखहरुले ति पालिकामा निर्वाचित अन्य जनप्रतिनिधिहरुलाई पनि सपथ गराएका छन भने कमल गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भोलि ( शुक्रबार ) सपथ खुवाउने र तत्कालिन जनप्रतिनिधिहरुको बिदाईसंगै नयाँलाई स्वागत गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान राईले जानकारी दिए ।
यस अघि जिल्लाका ११ पालिका प्रमुखहरुले सपथ ग्रहण गरि मातहतका अन्य जनप्रतिनिधिहरुलाई पनि सपथ खुवाइसकेका छन । आजको सपथसंगै झापामा रहेका सबै १५ वटै पालिकाका प्रमुख तथा अध्यक्षहरुले सपथ लिएर औपचारिक रुपमा आआफनो स्थानीय सरकारको बागडोर सम्हालेका छन ।
यसैबीच कमल गाउँपालिकामा अध्यक्ष राईले पदभार ग्रहण गर्दै तीन महत्वपूर्ण निर्णय लिएका छन । गाउँपालिका कार्यालयको पाँच बर्ष सम्म बन्न नसकेको प्रशासनिक भवनको निर्माण तत्काल हालकै स्थानमा थाल्ने, स्थानीय सरकारी स्वास्थ्य संस्थामै स्वास्थ्य बीमा कार्यक्रमको सेवा सञ्चालन गर्ने र बाल मैत्री गाउँपालिका घोषणा उन्मुख रहेको कमलमा चालू आर्थिक बर्ष भित्रै त्यसलाई पूर्णता दिने निर्णयमा उनले हस्ताक्षर गरेका हुन ।
पदभारसंगै कक्षा १२ सम्म निशुल्क
त्यसैगरी गौरीगञ्ज गाउँपालिकाकी अध्यक्षमा फूलवती राजवंशीले जिम्मेवारी सम्हाले लगत्तै उपाध्यक्षमा निर्वाचित पुजन न्यौपाने कुँवरसहित निर्वाचित सबै जनप्रतिनिधिहरुलाई सपथ गराएकी छिन । सोसंगै गौरीगञ्ज गाउँपालिकाले पालिकामा सञ्चालित सबै सामुदायिक बिद्यालयमा कक्षा १२ सम्मको पठनपाठन निशुल्क गर्ने निर्णय भएको छ ।
