‘अहिले सबै मिलेर कोरोना विरुद्धको लडाइँमा लागौं’

प्रकाश प्रसाइँ सामाजिक तथा राजनीति व्यक्तित्व हुन् । दमकका स्थायी बासिन्दा प्रसाइँ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य तथा दमक उद्योग वाणिज्य संघमा झण्डै डेढ दशक सम्म जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सामाजिक तथा व्यवसायिक नेतृत्वमा आफूलाई स्थापित गराउन सफल मानिन्छन उनी ।
राजनीतिक रुपमा भने नेपाली कांग्रेस दमक नगर समितिका सचिवको जिम्मेवारी सम्हालिरहेका छन प्रसाइँले ।
दमकमा रहेर यहाँका हरेक गतिबिधिमा सक्रिय नेतृत्व गर्दै आएका प्रसाइँ अहिले विश्वमा नै फैलिएको कोरोना महामारीको नियन्त्रणका बिषयमा भइरहेका प्रयासहरुमा निजी क्षेत्र सरकारसंग सहकार्य गरेर अघि बढन तयार रहेको धारणा राख्छन । दमक एउटा विशिष्ट ठाउँ भएर पनि यसले राज्यबाट लिनुपर्ने सहयोग तथा सुविधाहरु अझै लिन नसकिरेहको उनको निष्कर्ष छ । प्रस्तुत छ ः प्रसाइँसंग यीनै बिषयमा केन्द्रित रहेर गरिएको कुराकानीको ।

कोरोना संक्रमणका कारण निजी क्षेत्रले कस्ता कस्ता समस्या ब्यहोर्नु परिरहेको छ ?
स्वभाविक हो, हामी उद्योगी व्यवसायीहरु मात्रै होइन आम सर्वसाधारण नागरिकहरु अहिले कोरोनाको संक्रमणका कारण प्रभावित भएका छौं ।
हाम्रो उद्योग व्यवसाय क्षेत्रको मात्रै कुरा गर्ने हो भने बर्षौ उठन नसक्ने गरी यहाँका उद्योग व्यवसायहरु थला परेका छन् । लामो समयको राजनीतिक द्धन्द्ध पछि तङग्रिदै गरेको यहाँको आर्थिक गतिबिधि बारम्बार परि आउने प्रकोप र महामारीका कारण फेरी थलिएका छन् ।
एक बर्ष अघिदेखि निजी क्षेत्र पुरै अनिश्चित भविष्य बोकेर उभिएको छ , अघि बढन सकेको छैन ् । दमकमा मात्रै निजी क्षेत्रको अर्बौै लगानी कोरोनाका कारण उत्पादनबिहिन मात्रै बनेको छैन दिन प्रतिदिन नोक्सानी ब्यहोरिरहेको छ । यहाँ चल्दै आएका साना तथा मझौला उद्योगहरुले आफनो उत्पादननै बन्द गरेर बस्नु परेको छ । बैंकहरुबाट लिएको कर्जाको ब्याज सम्म तिर्न नसक्ने अवस्था छ । एकाध बाहेक सबै उद्योगी व्यवसायीहरुको लगानीको आधार भनेकै बैंक हो ।
बैंकहरुलाई समयमा ब्याज तथा साँवा रकमको किस्ता तिर्न नसक्दा व्यवसायीहरु पलायन हुने अवस्था आएको छ । उद्योग , कारखानाहरुमा कार्यरत मजदुर तथा कर्मचारी पाल्न नसकिने अवस्था सिर्जना भएको छ । दमक बजार एक दिन मात्रै बन्द हुँदा सरदर १० करोड भन्दा बढीको व्यवसायिक कारोबारमा धक्का लाग्ने गरेको थियो, अहिले हामी आफैं सोचौं एक बर्षयता करिब २÷३ महिना हाराहारीमा यहाँको व्यवसायिक कारोबार ठप्प जस्तै बन्न पुग्यो ।
लकडाउन एक महिना जति भएर व्यवसायिक कारोबार शुरु हुन थालेकोमा भदौदेखि फेरी कोरोनाकै कारण घर घर बस्नुपर्ने अवस्था आयो । अहिले आएर फेरी संक्रमण बढेपछि देशभरका अरु ठाउँमा जस्तै दमकमा पनि बजार बन्द गरेर बस्नुको बिकल्प हामी माझ देखिएन । आर्थिक बर्षको अन्त्यतिर हामी छौं अब कहिले व्यवसाय खुल्ने ? कारोबार कसरी गर्ने ? कसरी आर्थिक गतिबिधि चलायमान बनाउने ? हामीमाझ चुनौतीको चाङ नै खडा भएको छ ।
दमकमा पछिल्लो समय बढदो कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा भइरहेका कामहरुलाई यहाँको निजी क्षेत्रले कसरी लिएको छ ?
हुन त अरुलाई भन्न सजिलो छ, गर्नेलाई थाहा हुन्छ भन्ने गरिन्छ । त्यो कुरामा मेरो पनि दुई मत छैन । अहिले पनि दमकमा मैंले सुनिरहेको छु एक हजार जति दमकबासीहरु कोरोना संक्रमित हुनु भएको छ, एक- डेढ महिनाका बीचमा १३-१४ जना दमकबासीले ज्यान गुमाउनु परेको छ । हामीलाई दुख लाग्छ यहाँको सामाजिक, व्यवसायीक र राजनीतिक क्षेत्रमा विशेष योगदान गर्ने दमक नगरबासीहरुको निधन हाम्रा लागि ठुलो क्षति हो । हुन त यो अवस्था हामी कसैले चाहेर निम्तिएको होइन । हामी सबैको चाहना सबैलाई बचाउँ भन्ने नै हो ।
के सरकार, के प्रतिपक्ष, के निजी क्षेत्र हामी सबैको एउटै चाहना कोरोना विरुद्ध एकभएर लडौं भन्ने नै होला भन्ने लाग्छ । व्यक्तिगत रुपमा मलाई लागेको कुरा हो । राजनीतिक लडाइँ ,व्यक्तिगत जुँगाको लडाइँ लडनु पर्ने समय आएपछि लडौंला अहिले सबै मिलेर कोरोना विरुद्धको लडाइँमा लागौं भन्ने मेरो चाहना पहिला देखिनै थियो, अहिले पनि छ र सधैं मेरो चाहना त्यही नै यहाँको निजी क्षेत्रको चाहना पनि त्यही हो । दमक भन्ने वित्तिकै हामी देशभर चिनिएका छौं, कि प्रधानमन्त्रीको ठाउँमा हामी छौं । त्यसकारण पनि हामी भन्छौं कि दमकको पहुँच सबैभन्दा उच्च तह सम्म भएको कारण पनि दमकमा यो कोरोना महामारीको उपचार पनि त्यही अनुसारको गुणस्तरीय, विश्वसनिय र सहज किसिमको हुनुपर्ने हो ।
त्यसो भनिरहँदा अहिले यो महामारीमा खटिनु भएका कोही पनि डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुको भावनामा चोट नपुगोस । मैंले भन्न खोजेको कुरा दमकको जुन पहुँच छ त्यस अनुसारको यहाँ कोरोना संक्रमितहरुको उपचार सहज हुन सकेन । हाम्रो पूर्व तयारीमा कमजोरी देखियो ।
अहिले पनि प्रदेश सरकारबाट प्राप्त ५ थान भेन्टिलेटर ताप्लेजुङमा प्रयोगबिहिन भएर रहेको जानकारी हामीले पाएका छौं, के ति सामाग्री हामीलाई दमकमा आवश्यक थिएन ? एउटा विशेष ठाउँ हो दमक । दमकले अन्य जिल्लालाई पनि सेवा दिइरहेको छ यस्तो कुराहरुमा प्रधानमन्त्री र उहाँको सचिवालयको ध्यानाकर्षण हुन जरुरी छ ।
यहाँ पीसिआर परिक्षणका लागि एउटा मेसिन ल्याउन सकिएन, यहाँ अक्सिजनको आपूर्ति सहज हुन सकेन । पर्याप्त कोभिड बेडको व्यवस्थापन गर्न सकिएन । उपचारका लागि पहुँचवालासंग हारगुहार माग्नुपर्ने, भनसुनका लागि अनुनय विनय गर्नुपर्ने परिस्थिति हुनु हाम्रा लागि दुर्भाग्य हो ।

त्यसो भए निजी क्षेत्रले पनि त केही गर्न सकेनछ नि होइन ?
निजी क्षेत्रको कुरा गर्ने हो भने दमकमा अस्पतालहरुनै ठुलो संख्यामा निजी अस्पताल छन । ५÷७ वटा त यहाँ नाम चलेका अस्पताल छन् । ति अस्पतालहरुले कस्तो के सेवा दिइरहेका छन त्यसका बारेमा म बोल्नुपर्ने ठाउँमा छैन । त्यो सबै सर्वसाधारण दमकबासीले अनुभव गर्ने कुरा हो । मेरो विचारमा यहाँको सरकारी अस्पताल भर्खर मात्रै बिकासको चरणमा छ । यहाँको कोभिड अस्पतालमा उपकरण तथा आधुनिक प्रविधिहरुको उपलब्धता हुन सकेको छैन ।
के दमकको अस्पतालमा चाहिने पूर्वाधार राज्यले व्यवस्था गर्न सक्दैन ? धेरै व्यवसायी तथा सामाजिक संघ संस्थाहरुको सहयोगका भरमा यहाँको सरकारी अस्पताल चलाइएको देखिन्छ । राज्यको दायित्व यहाँ छैन र ? हामी निजी क्षेत्रकै कुरा गर्ने हो भने एक बर्ष अघिनै हामीले दमक उद्योग वाणिज्य संघ मार्फत स्थानीय सरकार समक्ष पीसिआर मेसिन खरिदमा सहकार्यको प्रस्ताव गरेका थियौं । कोरोना परीक्षण समयमा हुन नसक्दा उपचार प्रकृयामा ढिलो हुने स्वास्थ्य क्षेत्रका डाक्टरहरुको भनाईलाई आधार मानेर हामीले यहाँ पिसिआर मेसिन खरिदका लागि सहकार्य गर्ने प्रस्ताव गरेका थियौ, तर त्यसलाई सम्बन्धित निकायबाट सकरात्मक रुपमा लिने काम भएन ।
जसको परिणाम स्वरुप आज पनि हामी पिसिआर परीक्षणका लागि महंगो मूल्य तिरेर दुई दिन- तीन दिन पर्खिन बाँध्य छौं । यो काम हामीले दमकमा गरेर कमसे कम पनि झापा जिल्लाको आधा भन्दाबढी जनसंख्या, मोरङको पूर्वी क्षेत्र र इलाम पाँचथर सम्मका सर्वसाधारणको पिसिआर परीक्षण दमकमा नै गर्न सक्थ्यौं । समय बितिसकेको छ, सबै कुरा निजी क्षेत्रले मात्रै गर्न सम्भव छैन । सरकारी निकायसंगको सहकार्य र समन्वयमा पीसिआर मेसिन मात्रै होइन, अक्सिजन प्लान्ट स्थापना गर्न पनि सकिन्छ । यहाँको सामुदायिक र सरकारी अस्पतालको स्तरीकरण गर्न सकिन्छ तर विडम्बना यी सबै काम न आफू गरियो न अरुले गर्न खोज्दा त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्ने काम नै भयो ।

तपाइँ नेपाली कांग्रेसको नगर सचिव पनि हुनुहुन्छ , कांग्रेसको भुमिका चाहिं के छ ?
सबैलाई थाहा भएकै बिषय हो दमकमा हाम्रो पार्टीको निर्वाचित जनप्रतिनिधि कोही पनि छैन । तर त्यसो भन्दैमा हामी हाम्रो दायित्वबाट पन्छिन खोजेका पटक्कै छैनौं । नगरपालिका सबै राजनीतिक दल, नीजि क्षेत्र, सबै सामाजिक संघ संस्था सबैसंग खुल्ला छलफल गर्न तयार होस हामी रचनात्मक र सकारात्मक भुमिका खेल्न तयार छ ।

Leave a Reply

Your email address will not be published.