नयाँ वस्तीमा माफियाको चलखेल
दमक,११ जेठ । झापाको कमल गाउँपालिकाले जग्गाको स्वामित्व दिलाइदिने भन्दै कमलमा केही भूमाफियाहरुले गाउँ पसेर चलखेल गरिआएको भन्दै त्यस प्रति सजग हुन आग्रह गरेको छ ।पालिका अध्यक्ष हुकुमसिंह राईले आज सार्वजनिक सूचना निकालेर बर्षौदेखि जग्गाको स्वामित्व पाउन नसकेका अव्यवस्थित बसोबासी तथा भुमिहिन सुकुम्बासीहरुलाई विभिन्न प्रलोभन देखाउदै धनीपूर्जा हात लगाइदिन्छौं भन्दै अनाधिकृत रुपमा केहि माफियाले रकम असुल गरिआएको सुनिन आएकाले त्यस्ता अवैध कार्यमा संलग्न नहुन सवै वडाबासीलाई अनुरोध गरेका छन् । कसैले काम गरिदिने बहानामा ठगी गरिआए पालिका कार्यालय वा सम्बन्धित निकायमा उजुरी समेत गर्न जारी सूचनामा उल्लेख छ ।
सूचनामा हाल पालिका भित्रका अव्यवस्थित ,दलित भूमिहीन,भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गा दिन भूमि आयोगसंग समन्वय गरी काम हुदैआएकाले कसैले काम गरिदिने वा भनसुन गरी काम छिटो गरिदिने भन्दै अवैध रकम असुल्ने तथा त्यस्ता अनर्गल भ्रमको पछि नलाग्न वडाबासीलाई अनुरोध गरिएको उल्लेख छ ।
नयाँ वस्तीमा माफियाको चलखेल
कमल -५ स्थित राजमार्ग उत्तरतर्फको नयाँ बस्तीका भूमिहीनहरुलाई प्रलोभन देखाउदै ठगी धन्दा सक्रिय भएको पाईएको छ । विक्रम सम्बत २०५७ सालमा रतुवा खोलामा आएको बाढीबाट विस्थापित भई त्यहाँ बस्दैआएका ५० वढी घरपरिवारलाई जग्गाको सवामित्व दिलाई दिने भन्दै केहि व्यक्ति त्यहाँ सक्रिय भएको बुझिएको छ ।
त्यहाँका बाढी पीडितहरुलाई युवा पुस्तालाई बाबुबाजेको पालादेखि समाधान नभएको तिमीहरुको समस्या माथि पुरयाएर समाधान गर्छौं, धनीपूर्जा हात लगाइदिन्छौं भन्दै त्यस्तो समूहले त्यस्तो काम गोप्यरुपमा गरिदिने भन्दै पैसा माग्ने गरेको पाइएको त्यस बस्तीकै ज्येष्ठ भद्रजीत थापाले बताए ।
बस्ती नजिकै घर भएका तत्कालिन लखनपुर गाविसका पूर्व अध्यक्ष भोजकुमार घिमिरेले नयाँ बस्तीमा केहि मानिसले माथिबाट काम गराउने भन्दै वस्तीका बासिन्दासंग रकम माग्ने गरेको पीडितबाट गुनासो आएको बताए । हामीले त्यति राम्ररी चिनेका छैनौं तर गाउँमा कुरा आयो समस्या भएका साथीहरु के कसो रहेछ भनेर बुझन आउनु भएको छ– उनले भने । उनले लखनपुरका कतिपय गाउँमा त्यस्तो समूह आएपनि त्यो समूहको कुनै आधिकारिकता नभएकाले धेरै बताउन नसकिने पनि बताए । उनले भने, –‘तत्कालिन जनप्रतिनिधि र प्रशासकहरुलेनै ज्यान जोगाउनका लागि बसाएका तीन दर्जन बढी परिवारको घर संख्या बढेर अहिले पचासका हाराहारीमा पुगेका र उनीहरुले बसोबास गरिरहेको सो जग्गाको स्वामित्व पाउन नसक्नु बिडम्बना भएको छ ’
जग्गाको स्वामित्व सम्बन्धि समस्या भएका सो क्षेत्रका बासिन्दासँग धनीपूर्जाको प्रलोभन देखाएर पटक पटक राजनीतिक दलका नेताहरुले भोट मागेपनि समस्याको समाधान हुन सकेको छैन् । चुनावका बेला सबैको साझा एजेण्डा बन्ने गरेको यो समस्या चुनावपछि जस्ताको तस्तै रहँदै आएको छ । नयाँ बस्ती मात्र नभएर कमल ५ वडाका ८८८ घरपरिवारको हालत उस्तै छ । कमल ५ का निर्वतमान वडाअध्यक्ष डम्बरबहादुर निरौलाले आफनो कार्यकालमा त्यहाँका ती सवैलाई जग्गाको मालिक बनाउन तत्कालीन भूमि आयोगमार्फत काम गरिएपनि हालसम्म त्यहाँ भन्दा थप प्रगतिको काम हुन नसकेको बताउँछन् ।