दमक, १० जेठ । दमक नगरपालिका विपत व्यवस्थापन समितिले पछिल्लो समयमा हावाहुरी र चट्याङबाट पीडित २४ घरपरिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।आज नगरपालिकामा बसेको विपत व्यवस्थापन समितिको बैठकले पीडितहरुलाई क्षति मूल्यांकनका आधारमा नगरपालिकाको विपत व्यवस्थापन समितिले राहत दिने निर्णय गरेको हो ।
बैठकले क्षतिको मूल्यांकनका आधारमा रु ५ हजारदेखि रु २० हजारसम्म राहत उपलब्ध गराउने निर्णय गरेको समितिका अध्यक्ष एवम् दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताए ।
वर्षायाम सुरु हुनै लाग्दा गत महिना र हालसालै हावाहुरी र वर्षाका कारण केही संख्यामा कृषि फर्महरुसहित २७ घरपरिवार प्रभावित भएका र सोही अनुसार राहत माग गर्दै निवेदन परेको समितिका सदस्य सचिव एवम् दमक नगरपालिकाका इन्जिनियर अनन्तप्रसाद सेनेहाङले जानकारी दिए ।
उनले भने , –‘समितिको तर्फबाट स्थलगत अनुगमन गरी क्षतिको मूल्यांकन समेत गरिएको छ । त्यसैका आधारमा ४ भागमा वर्गीकरण गरेर राहत उपलब्ध गराउने निर्णय भएको हो’, हावाहुरीले दमकका विभिन्न वडामा घर, गोठ, टहराको टिन उडाएको भनी निवेदन परेको थियो भने एक विपन्न महिलाको भैंसी चट्याङ लागेर मरेको थियो ।
दमक ४ मा भने हावाहुरीबाट पीडित घरपरिवारलाई जनही रु १५ हजारका दरले यसअघि नै वडा कार्यालयबाट समेत राहत प्रदान गरिएको थियो ।
त्यस्तै समितिले सम्भावित नदी तथा बाढीको जोखिम नियन्त्रणका लागि आवश्यक तटबन्धन, तारजाली र बाँसको पाइलिङ निर्माण कार्यलाई प्राथमिकतामा राखेर मनसुन अगावै बाँध निर्माणका लागि काम थाल्ने निर्णय गरेको छ ।
सदस्य सचिव सेनेहाङको संयोजकत्वमा ३ जनाको प्राविधिक टोलीले सो बारे अध्ययन गरेर समितिलाई प्रतिवेदन बुझाएपछि सो अनुसार नदी तथा बाढी नियन्त्रणका लागि कार्य थालिने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिईन् ।
उनका अनुसार समितिले संघीय सरकारमातहतको जनताको तटबन्धन कार्यक्रम गैंडे झापा र प्रदेश सरकारसँग बाढी जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग माग गर्ने निर्णय गरिएको छ ।