झापा,१० जेठ । आन्तरिक राजस्व कार्यालय झापाले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको जनाएको छ ।जिल्लाका उद्योग धन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा परेको आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए ।
कार्यालयले चालु आर्थिक बर्षको १० महिनामा रु. दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व संकलन गरेको उनले जानकारी दिए । कार्यालयले सो अवधिमा दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
उनका अनुसार संकलन भएको रकम मध्ये करिब रु. एक करोड ५० लाख विगत बर्षहरुमा पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताबाट संकलन भएको हो ।
कार्यालयले आर्थिक बर्ष २०७९÷८० को साउनदेखि बैशाख मसान्तसम्ममा आयकरवापत रु. १ अर्ब १२ ९९ लाख छ हजार संकलन गरेको छ । कार्यालयले आयाकर वापत रु. एक अर्ब ३१ करोड ६८ लाख नौ हजार रकम संकलन गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी, मूल्य अभिवृद्धि करतर्फ रु. ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कवापत रु. ३७ करोड ३६ लाख १७ हजार राजस्व संकलन गरिएको उनले बताए । प्रमुख कर अधिकृत रिजालले मूल्य अभिवृति र अन्तशुल्कतर्फ समेत लक्ष्य अनुसार संकलन नभएको बताए ।
“सबै क्षेत्रमा आर्थिक संकटमा चुलिएको छ”, उनले भने, “त्यसको प्रत्यक्ष प्रभाव राजस्व देखियो ” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारीहरु नै रहेका उनले जानकारी दिए । आर्थिक मन्दीको अवसर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उनको भनाई छ । कार्यालय मतहातमा ५४ हजार बढी करदाता रहेको छन् ।