नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दायर,थप अनुसन्धान हुने

झापा ,१० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।बुधबार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो।उनीहरूविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहितविरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाबिरुद्ध मुद्दा दर्ता गरिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुने
नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुने भएको छ । सो प्रकरणका आरोपितहरुले बयानमा नाम लिएका र कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान हुने भएको छ ।

बुधबार ३० जनाविरुद्ध अदालतमा मुद्दा पेश गर्ने क्रममा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका भएपनि अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा थप अनुसन्धान हुने भएको हो ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले ‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र पेश गरिने’ जनाएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अहिलेसम्मको अनुसन्धानका आधारमा पेश भएको प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय भएको जानकारी दिँदै कतिपय अवस्थामा थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन भएको बताए ।

अभियोगपत्रमा नै बाँकीको हकमा अनुसन्धान गरेर पूरक प्रतिवेदन पेश गर्ने भनेको उनले बताए । सरकारी वकिल कार्यालयको निर्देशनपछि सो प्रकरणमा प्रहरीले अर्को अनुसन्धान अघि बढाउँने भएको छ । ६० दिनको समयसीमाका कारण अनुसन्धान पूरा हुन नपाएको पाटोमा थप अनुसन्धान हुने भएको हो ।

Leave a Reply

Your email address will not be published.