झापा , जेठ १० । झापा र मोरङमा गरि आज विहानसम्म थप दश जना कोरोना संक्रमितको मृत्यु भएको छ । फिदिमकी एक महिलासहित झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ भने मोरङमा ७ जनाको मृत्युभएको छ ।
मृत्यु हुनेहरुमा झापा बिर्तामोड र बुद्धशान्तिका दुई पुरुष छन् । बिर्तामोड ८ का ८५ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको र त्यसपछि होम आइसोलेसनमा रहेका उनको हिजो बेलुका मृत्यु भएको नगरपालिकाका कोभिड पर्सन ओम खड्काले बताए । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २३ पुगेको छ ।
त्यस्तै मेची अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं २ का ७७ वर्षिय पुरुषको उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको सूचना अधिकारी मनोज पोखरेलले बताए । त्यस्तै मेचीमा फिदिम ३ बस्ने ३१ वर्षिया महिलाको पनि मृत्यु भएको उनले जानकारी दिए ।
मोरङमा सात संक्रमितको मृत्यु
मोरङमा कोरोना भाइरस संक्रमित चार महिला र तीन पुरुष गरेर सात जनाको आज सोमबार बिहान मृत्यु भएको छ । उपचारका क्रममा अस्पतालमा र होम आइसोलेसनमा गरेर सात जनाले एकाबिहानै ज्यान गुमाएका हुन् । सात जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुने छ जना सङ्क्रमितमध्ये चार महिला र तीन पुरुष रहेका छन् ।
विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको बिहान ६ बजेतिर मृत्यु भयो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै विराटनगर–३ का ८० वर्षीय वृद्धा पुरुषको पनि विराटमै बिहानका राति १ः५० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको जानकारी देवले दिए ।
नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु बिहान ९ः४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । बिहान ४ बजेतिर उनको मृत्यु भएको दाहालले जानकारी दिए । उनका अनुसार महिलालाई उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो ।
धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्ध पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको दाहालले बताए । उनको मृत्यु बिहान ४ः१५ बजेतिर भएको हो । वृद्धलाई उपचारका लागि जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो । कोसी कोभिडमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । उपचारका लागि जेठ ३ गते भर्ना गरिएका उनको बिहानका राति १२ः२० बजेतिर मृत्यु भएको राजवंशीले बताए ।
सुन्दरहरैँचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । परीक्षण गराउँदा जेठ ५ गते कोरोना पुष्टि भएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।