
झापा, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले आज बिहान २ बजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर महानगरको दोस्रो मेयर घोषित भएका हुन् । कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ४ सय ५५ मत पाएका छन् । २०७४ को स्थानीय निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकालले १७ हजार ३ सय २४ मत ल्याएका थिए ।
त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । २०७४ को स्थानीय निर्वाचनमा त्यहाँ कांग्रेसले मेयर र उपमेयरसहित ८ वडा जितेको थियो । महानगरमा १९ वडा छन् ।
सूर्योदय प्रमुखमा नेकपा एस, उपमेयरमा कांग्रेस
झापा, ७ जेठ । इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी भएको छ ।आज विहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मेयरमा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।