
काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको आव्हान गरेपछि थापाले महाअभियोग लगाउनुपर्ने बताएका हुन् ।
दलहरुले सुझबुझका साथ राष्ट्रपतिले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने उनको भनाइ छ ।
‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? र जानेर गरेको हो । गनगन गरेर नबसौं,’ उनले उल्ल्ेख गरेका छन् ।
महाअभियोग लगाउन साझा पार्टीको आव्हान
विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन आव्हान गरेको छ ।
राष्ट्रपतिको पछिल्लो कदमप्रति तीब्र असन्तुष्टि जनाउँदै संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन आव्हान गरेको हो । प्रवक्ता शरदराज पाठकले आज एक प्रेस बिज्ञप्ति जारी गरी संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र ओलीको विकल्प दिन संसदमा रहेका सबै विपक्षी दल तथा सांसदहरू एक ठाउँमा उभिनु अत्यन्त जरुरी भएको बताएका छन् ।
संविधानतः प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लंघन भएको ठहर गर्दै वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता भएको विज्ञप्तिमा उल्लेख छ ।
महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई हटाऊ : तरुण दल
नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्ताव लगाएर हटाउन माग गरेको छ । प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउन माग गरेका हुन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’
संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको तरुण दलको ठहर छ । ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो,’ विज्ञप्तिमा लेखिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबाट व्यवहार खेदजनक भएको बस्नेतले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेदजनक छ,’ बस्नेतले भने ।