
मेयरमा कांग्रेसका पोखरेल र उपमेयरमा राप्रपाकी कार्की
दमक,५ बैशाख । झापाको भद्रपुरमा गठबन्धन विजयी भएको छ । आज सम्पन्न अन्तिम परिणाम अनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल विजयी भए भने उपप्रमुखमा राप्रपाकी राधा कार्की निर्वाचित भइन् ।
नगर प्रमुखमा पोख्रेलले आफना प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार भएका असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गर्द निर्वाचित भएका हुन् । भद्रपुरमा कांग्रेसले मेयर जितेर यसपटक इतिहास राख्न सफल भएको छ । पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन् ।
त्यस्तै,राप्रपाका नवराज पनेरुले ६ हजार ३१०, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बु ६०८, जनता समाजवादीका समर कुमार राई ३६१ , मंगोल नेशनल अर्गनाइजेसनका इन्द्र कुमार सुहाङ ३०० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कर्मकार ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारीले ३१ मत ल्याएका छन् ।
राप्रपाले पनि भद्रपुरमा इतिहास रच्दै उपमेयरमा बाजी मारेको छ । कांग्रेस र एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ६९७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भईन् । कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत ल्याएका छन् । यता नगरको वडामा रोचक परिणाम आएको छ ।
वडा १ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । वडा २ मा कांग्रेसका रामप्रसाद कँडेल वडा अध्यक्ष निर्वाचित भएका छन् । वडा न. ३ मा राप्रपाका प्यानलसहित वडअध्यक्षमा हेम बहादुर कार्की निर्वाचित भएका छन् । वडा ४ मा माओवादीका हंशधर राजवंशी ,वडा ५ मा कांग्रेसका बन्धु कार्की, वडा ६ मा कांग्रेसकै रतिया राजवंशी र वडा ७ मा राप्रपाका अभिषेक ढुंगाना वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरि वडा ८ मा कांग्रेसका गौरव सुब्बा ,कवडा ९ मा एमालेका रामप्रसाद दाहाल र वडा १० मा एमालेका टेकबहादुर खडका वडा अध्यक्षमा निर्वाचित भएका छन् ।