दमक ,५ जेठ । विश्व वैंकको सहयोगमा नगरकै नमुना बन्न लागेको मदनडाँगी –ताराबारी डिपु सडकको आजबाट रेखांङकन सुरु गरिएको छ ।दमक वडा ५ र १ को सिमा क्षेत्र स्वर्गिय धनबहादुर श्रेष्ठको घर देखि वडा नम्बर ४ को ताराबारी डिपुसम्म चार लेनमा निर्माण हुने सडक क्षेत्रको रेखांकन गरी काम सुरु गरिएको हो ।
नगर प्रमुख रामकुमार थापा, उप प्रमुख रेगिना भट्टराईसहित वडा अध्यक्षहरु सामाजिक अगुुवाहरुको उपस्थितिमा सडकको रेखांकन सुरु गरिएको हो । सडक निर्माण गर्दा कुनै अवरोध नआओस भनेर अहिलेनै रेखांकन गरि सडक क्षेत्र पहिचान गरी निर्माण कार्य अघि बढाउने नगर प्रमुख थापाले बताए । आगामी दुई बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको उनले बताए ।
सडकको रेखाङकन सुरु गर्दै नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईले दमककै पुरानो सडक उच्च गुणस्तरको निर्माण हुन लागेको खबर सुनेर आफुलाई अत्यन्तै हर्ष लागेको उल्लेख गरे । सडक निर्माण सम्पन्न भए पछि यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने उनले बताए ।
१५ मिटर चौडाईको पाँच किलोमिटर सडक निर्माणका लागि रु ४४ करोड २४ लाख १५ हजार ५ सय २७ रुपैयाँमा ठेक्का लागेको नगरपालिकाले जनाएको छ । उक्त सडकमा पैदल लेनसहित साईकल लेन समेत हुने जनाईएको छ ।
दमककै नमुना बन्ने सडकको बीचमा हरियाली क्षेत्र समेत रहने छ भने सडकको दुवै तर्फ अत्याधुनिक बिजुली बत्तीको जडान गरिने नगर उपप्रमुख भट्टराईले बताईन् ।