दमक ,५ जेठ । दमक ५ का पूर्व वडाअध्यक्ष स्वर्गीय मोतिबहादुर इङ्नामको स्मृति ग्रन्थ प्रकाशित गरिएको छ ।स्व.इङ्नामको दोश्रो वार्षिक पुण्य तिथिका अवसरमा आज यहाँ एक कार्यक्रमका बीच दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले ‘मोतिबहादुर इङनाम नामक स्मृति ग्रन्थ’ लोकार्पण गरे । सो कृतिका सम्पादक प्रा. डा. गोविन्दराज भट्टराई रहेका छन् ।
सो स्मृति ग्रन्थ स्व.इङनामकी धर्मपत्नी शिला लावती इङनामसहितका परिवारले प्रकाशनमा ल्याएका हुन् । इङनामको स्मृति ग्रन्थ लोकापर्णका क्रममा नगर प्रमुख थापाले स्व..इङनामको सामाजिक योगदानको चर्चा गरे । इङनाम परिवारले उनलाई जीवन्त बनाउन उनको नाउमा स्मृति ग्रन्थ प्रकाशन गरेर महत्वपूर्ण काम गरेको उनको भनाई थियो ।
कार्यक्रममा दमक नगर उप–प्रमुख रेगिना भट्टराई ,निवर्तमान नगर प्रमुख रोमनाथ ओलीले मोति बहादुरले गरेका राम्रा कामहरुलाई अरुले पनि अनुशरण गरे उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।
मोतिबहादुरसंग आफ्नो चिनजान, घनिष्टता र पारिवारिक सम्बन्ध रहेको बताउँदै स्मृति ग्रन्थका सम्पादक प्रा. डा. भट्टराईले विभिन्न कालखण्डमा लेखेका दैनिकी, संखुवासभा, अमेरिका, बेलायत, हङकङ बस्दा देखेका भोगेका कुराहरुलाई डायरीमा समेटेको र तिनै विषयवस्तु साथै उनका बारेका केही बौद्धिक व्यक्तित्वहरुको अनुभव र अनुभूतिलाई स्मृति ग्रन्थमा समावेश गरिएको उल्लेख गरे ।
कार्यक्रममा पूर्व राष्ट्रिय पञ्चायत सदस्य शेरबहादर इङनाम, अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई इङनाम,अधिवक्ता दिलबहादुर इङनाम, गोर्खाली टोल विकास संस्थाका नारायण वनेमले स्व.मोति बहादुर स्थानीय टोलवासीहरु सबैका लागि अभिभावक रहेको औल्याएका थिए ।