
झापा , ४ जेठ । झापाको कचनकवल गाउँपालिकामा अध्यक्षसहित नेपाली कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ ।गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष जितेको हो । स्थानीय तहमा कांग्रेससंग गठबन्धन बनाएको नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ । गत निर्वाचनमा बहुमतमा रहेको राप्रपा भने बढारिएको छ । ११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए ।
त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४ , जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ , लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१ , नेकपा एकीकृत समाजवादी पार्टीका खेपचरण यादवले ५४ , जनमत पार्टीका वाकसिंह राजवंशीले २० र स्वतन्त्र उम्मेदवार विनोदकुमार खरेलले १८ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भए । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले मात्र ६ हजार ८०१ मत प्राप्त गरिन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका हेलामती राजवंशीले १३७ र जनमत पार्टीका सरस्वती मुखियाले २५ मत ल्याएका छन् ।
वडाध्यक्षतर्फ वडा नं १ मा कांग्रेसका महावीर लिम्बू , २ मा एमालेका लेखनाथ खत्री , ३ मा कांग्रेसका ग्यास अजमल मिया , ४ मा कांग्रेसका नुरुजजमा मिया , ५ मा कांग्रेसका मोहम्मद नूर आलम , ६ मा कांग्रेसकै चिन्तामणि खरेल र ७ मा पनि कांग्रेसकै भरत राजवंशी निर्वाचित भएका छन् ।
बाह्रदशी गाउँपालिका एमाले विजयी
नेकपा एमालेले झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ ।एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४३६१ मत ल्याए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार सिंह राजवंशीले ४०६८, जनता समाजवादी पार्टीका रंगलाल राजवंशीले ११४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ८७, मौलिक जरोकिलो पार्टीका श्यामप्रसाद उप्रेतीले ५०, जनमत पार्टीका आसिनलाल राजवंशीले ३८, स्वतन्त्र उम्मेदवार दलबहादुर थापाले २४, उन्नत लोकतन्त्र पार्टीका उमादेवी विश्वकर्माले ५१ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा एमालेकै शान्तादेवी शिवाकोटी ६६३६ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी राप्रपाकी कमला राजवंशीले ४१९५ मत पाइन् । त्यस्तै अन्य उम्मेदवारहरुमा माओवादी केन्द्रका शंकरप्रसाद सेडाईले २७५७, स्वतन्त्र उम्मेदवार लक्ष्मी तिवारीले ८० र जनमत पार्टीकी ताराकुमारी राजवंशीले ५९ मत ल्याएका छन् । यसअघि गत निर्वाचनमा बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।
यसपटक एमालेले अध्यक्ष र उपाध्यक्ष जितेपनि बहुमत पुरयाँउन सकेन । जितेको सिट संख्यालाई हेर्दा एमालेभन्दा कांग्रेसकै बढी रहेको छ । ७ वटा वडा रहेको बाह्रदशीमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ९ सिट जित्दा कांग्रेसले ३ वडाध्यक्षसहित १८ सिट जितेको छ । वडाध्यक्षतर्फ वडा नं १ मा कांग्रेसका टेकबहादुर सिंह राजवंशी , २ मा कांग्रेसकै भीमबहादुर कार्की , ३ मा पनि कांग्रेसकै टंकप्रसाद साह , ४ मा स्वतन्त्र उम्मेदवार महताव आलम , ५ मा राप्रपाका विरबहादुर सिंह राजवंशी , ६ मा एमालेका रत्नप्रकाश योङहाङ र ७ मा कांग्रेसका मित्रराज भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी
राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ ।राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याए । त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसीप्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिकादेवी राउतले १४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।
वडातर्फ हल्दिबारी– १ मा राप्रपाका प्यानलसहित देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी– ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्तकुमार थापा निर्वाचित भएका छन् । हल्दिबारी– २ मा माओवादीका शुकलाल राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी– ३ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । हल्दिबारी– ५ मा काँग्रेसका खड्गबहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् ।गत कार्यकालमा एमालेको बहुमत रहेको थियो भने राप्रपा अल्पमतमा रहेको थियो ।