दमक,४ जेठ । दमक ४ स्थित अर्नाखाडीमा रहेको ग्रामथानमा निर्माणाधिन अर्नाखाडी सामुदायिक भवनको निर्माण सम्पन्न गर्न स्थानीय धिमाल अगुवाहरुले नगरपालिकासंग सहयोग माग गरेका छन् । निर्माणाधिन सामुदायिक भवनमा महिलाहरुले तान राखेर धिमालका जातिय पोषाकहरु बुन्दै आएको र भवनमा वाल नहुँदा सुरक्षा जोखिम बढेको भन्दै स्थानीय धिमाल अगुवाहरुले भवन निर्माण सम्पन्न गर्न थप रकम माग गरेका हुन् ।
निर्माणाधिन उक्त सामुदायिक भवनको विहिबार अवलोकनका क्रममा नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईलाई त्यस्तो माग गरिएको ग्रामथानका अध्यक्ष पुजारी धिमालले बताए ।
उनका अनुसार सो भवनमा स्थानीय महिलाले तान बुन्ने गरेको भन्दै भवनको घेरावेरा नहुँदा सुरक्षा चुनौति बढ्दै गएको छ । हाल स्थानीय महिलाहरुले उर्नी महिला समूह गठन गरी त्यहाँ घरेलु तानमार्फत आफना सांस्कृतिक पहिरनका कपडाहरु तयार गरिआएका छन् । २५ जना बढी महिलाले सामूहिक रुपमा तान बुन्ने गरेको भन्दै उनले भवनमा घेरावेरा नहुँदा तान पनि चोरी हुने गरेको महिला समूहकी अध्यक्ष रिना धिमालले सुनाईन् । त्यसैगरी ग्रामथानको बिकासका लागी पनि आगामी बर्षको बजेटमा रकम बिनियोजन गर्न माग गरिएको अध्यक्ष पुजारी धिमालले बताए । यहि जेठ ७ गते उक्त ग्रामथानमा जात्री सिरिजात मेला लगाउने तयारी गरिएको धिमालले जानकारी दिए ।