दमक ,४ जेठ । झापामा रेलमार्गका लागि निर्धारण भएको जग्गाभन्दा बाहिरको जग्गा फुकुवा भएको छ । मेट्रो रेल तथा मोनो रेल विकाश आयोजना रेल योजना कार्यालय दमकले रेलमार्ग पनि जिल्लाका पालिकाहरुलाई पत्र पठाउँदै जग्गा फुकुवा गरेको जानकारी दिएको हो ।
मेचिनगर नगरपालिका, विर्तामोड नगरपालिका, कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकालाई रेल योजना कार्यालयले पत्र पठाउँदै रेलमार्ग क्षेत्र बाहिरको जग्गा फुकुवा भएको जानकारी दिएको हो । रेलमार्ग बाहिरको जग्गा फुकुवा गर्न जग्गाधनीहरुले बारम्बार आग्रह गर्दै आएका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७७-०४-९९ मा भएको निर्णयबाट रेलमार्गका लागि निर्धारण भएको क्षेत्रभन्दा बाहिरको जग्गा फुकुवा गर्ने सम्बन्धमा मिति २०८०-०१-१४ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय भएको जानकारी सम्वन्धित पालिकाहरुलाई गराइएको छ ।
योजना प्रमुख सन्जय पन्थीले हस्ताक्षर गरेको पत्रमा जग्गा फुकुवाको निर्णय कार्यान्वयनका लागि मातहतका सम्वन्धीत शाखा तथा वडा कार्यालयहरुलाई जानकारी गराउनका लागि उल्लेख रहेको छ । दमक वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराईले पत्र प्राप्त भएको र अब सोहि अनुसार गरिने बताए । गत वैशाख २० गतेको मितिमा चलानी नं. ५४ को पत्र प्राप्त भएको उनको भनाई छ ।
तीन दिनअघि रेल योजना कार्यालय दमकमा रेलमार्गमा नाममा जनताको जग्गा रोक्का राखेर अन्याय गरेकाले जग्गा फुकुवा गर्न लगायतका विभिन्न माग राख्दै वाईसिएल दमकले तालाबन्दी पनि गरेको थियो । तालावन्दीकै भोलिपल्ट नै तालाबन्दी खोलेर कार्यालय भने सुचारु भएको बताइएको छ ।