कमल नगर अस्पताललाई रु ५० लाख बढीको सहयोग

दमक,३ जेठ । झापाको कमल नगर अस्पताललाई अमेरिकास्थित हेल्पिङ हेन्डस फर रिलिफ एण्ड डेभ्लप्मेन्ट नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले वर्क फर नेपाल मार्फत करिब रु ५० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
गाउँपालिकाद्धारा सञ्चालित सो अस्पताललाई दोश्रो पटक सो संस्थाले आज कोशी प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूको उपस्थितिमा सर्जिकल तथा प्रयोगशालासँग सम्बन्धित विभिन्न २०० प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
ति सामग्री गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुलक लिम्बूलाई हस्तान्तरण गरे । सोही अवसरमा मन्त्री लिम्बू र वर्क फर नेपालका प्रवन्धक जिवप्रसाद पोखरेलले संयुक्त रुपमा अस्पताल परिसरमा जडान गरिएको खानेपानी प्लान्टको समेत उदघाटन गरे । प्लान्टबाट वितरित पानी पिएर उदघाटन गरिएको हो ।सो कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लिम्बूले स्वास्थ्य र खानेपानी दुवै संविधानमा उल्लेखित नागरिकको मौलिक हक भएकोले सरकार यसप्रति संवेदनशील रहेको चर्चा गरिन् ।
उनले वर्क फर नेपाल र दाता संस्था हेल्पिङ हेन्डले स्वास्थ्य जस्तो संवेदनशील बिषयमा गरेको सहयोगको प्रशंसा गर्दै यस किसिमका सहयोगका कार्यक्रमहरु अन्य पहाडी तथा विकट ठाउँहरुमा समेत पुरयाउन आग्रह गरिन् । उनले भनिन्,–‘अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक थप जनशक्तिको पदपूर्ति तथा उपकरणहरुको व्यवस्थाका लागि पनि प्रदेश सरकारबाट सहयोग पुरयाँउने प्रतिबद्धता जनाउछु । ’
गाउँपालिका अध्यक्ष राईले पालिकामा पदभार ग्रहणसँगै गरिएको प्रतिबद्धता अनुरुप अस्पतालको बिकास र प्रदान गरिने सेवाको विस्तारलाई अघि बढाउन हेल्पिङ हेन्ड र वर्क फर नेपालले गरिरहेको योगदानको प्रशंसा गरे ।
गाउँपालिकाबासीलाई स्थानीयस्तरमै सम्भव भए सम्मको उपचार सेवा प्रदान गर्न र स्वास्थ्य बीमा कार्यक्रम ९ महिनाको अवधिमा सुचारु गर्न सफल भएको चर्चा गर्दै उनले स्वास्थ्य सेवा स्थानीय सरकारको प्राथमिकताको बिषय हुँदाहुँदै पनि आफनै स्रोतबाट सबै आवश्यकताको परिपूर्ती नहुने भएकाले माथिल्लो तहका सरकार र दाता संस्थाहरुको सहयोग अपरिहार्य भएको पनि जोड दिए ।
कार्यक्रममा वर्क फर नेपालका व्यवस्थापक पोखरेलले यसअघि कमल नगर अस्पताललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीको उपयोगिता बढीनै भएकाले संस्थाले पुनः दोश्रो पटक यस किसिमको सहयोग उपलब्ध गराउन उचित ठानेको बताए ।
वर्क फर नेपालका अध्यक्ष तिलचन्द अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले पनि वर्क फर नेपाल र हेल्पिङ हेन्डले गरेको सहयोगको प्रशंसा गरिन् ।
वर्क फर नेपालले जिल्लाका अन्य पालिकाहरु झापा गाउँपालिका, बाह्रदशी, शिवसताक्षी लगायतका पाँच पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कोषाध्यक्ष दिनेश संग्रौलाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय झापामा रु १ करोड ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गर्ने काम भइरहेको छ । सो संस्थाले विशेष गरी शुद्ध पिउने पानीका लागि बिद्यालय तथा सार्वजनिकस्थलहरुमा जडान गरेको खानेपानी प्लान्ट धेरै उपयोगी भएको सम्बन्धित क्षेत्रका उपभोक्ताहरुले गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.