झापा, ३ जेठ । झापा कारागारका बन्दीद्धय रमेश पोखरेल र राजेन्द्र थेबेले ‘बन्द पर्खालबाट’ नामक कविता संग्रह प्रकाशित गरेका छन् ।प्रतिक्षित नयन साहित्यिक समाज प्रकाशक रहेको उक्त संयुक्त कृतिमा कवि पोखरेलका १५ वटा र कवि थेबेका २६ वटा गद्य कविता समेटिएका छन् । कवि पोखरेल पूर्व पत्रकार हुन भने अर्का कवि थेबे कारावास पुग्नु अघि सामाजिक अभियन्ता थिए ।
कृतिको भूमिका लेख्दै श्रष्टा समेत अग्रज पत्रकार चन्द्र भण्डारीले बन्दीगृहको भीडभाड र अप्ठेरो बसाईबीच दुई कविले कविता संग्रह प्रकाशित गरेर सिर्जनशील मान्छेको उडानलाई कुनै पर्खालले पनि छेकेर राख्न सक्दैन भन्ने प्रमाणित गरेको उल्लेख गरे ।
उनले कारागारको जीवन बिताइरहेका व्यक्तिभित्र देशप्रेम, समृद्धि र मुक्त आकाशको आकांक्षासँगै समग्र समाजलाई प्रगतिमार्गमा डोहोर्याउने तीब्र हुटहुटी हुन्छ भन्ने कुरा कृतिमा समेटिएका कविताहरुले सन्देश प्रवाहित गरेको बताए ।
बन्दी विकास पुस्तकालयका अध्यक्ष लयप्रसाद शिवाकोटीले कविद्वयको कविता संग्रहले कारागारको पर्खालभित्र प्रतिभा कैद हुन सक्दैन भन्ने उदाहरण दिएको उल्लेख गरे ।
कारागारभित्र कैदीबन्दीलाई अध्ययनको अवसर दिलाउन वि.सं. २०५४ मै बन्दी विकास पुस्तकालय स्थापना भएको जनाउँदै उनले कारागार एउटा सुधारगृह भएको हुदाँ त्यहाँ बस्ने कैदीबन्दीले आफ्नो साहित्यिक प्रतिभा र जीवनपयोगी सीपहरु देखाउने अवसर पाउने उनले बताए ।
झापा कारागारका प्रमुख मोहन पनेरुले असजिलो बसाइका क्रममा समेत आफ्नो साहित्यिक प्रतिभालाई मर्न नदिएर कवि पोखरेल र थेबेले प्रशंसनीय कार्य भएको उल्लेख गरे । कृतिको प्रकाशक प्रतिक्षित नयन साहित्यिक समाजका अध्यक्ष मनोज लावतीले कारागारभित्र नियमित रुपमा साहित्यिक कार्यक्रमहरु आयोजना भइरहेको बताए । उक्त संस्था कारागारभित्रै रहेका साहित्यमा रुचि राख्नेहरुले स्थापना गरेका हुन् ।
कृतिका सर्जक रमेश पोखरेलले बन्दी जीवन विश्वविद्यालय जस्तो अनुभूति भइरहेको जनाउँदै कारागार बसाइका अनुभूतिहरु कवितामा अभिव्यक्त गरेको बताए भने अर्का सर्जक राजेन्द्र थेबेले कारागारभित्र लेख्ने र पढ्ने वातावरण भएको उल्लेख गरे ।