गौरादह,२ जेठ । झापाको गौरादह नगरपालिकाका युवाहरु सभ्यता संरक्षणमा स्वतःस्फूर्त रूपमा जुटेका छन् ।गौरादह नगरपालिका वडा न १ र २ मा पर्ने कृष्णीघाटको मानव दाहसंस्कार स्थल वरपर फोहोर र प्रदूषण बढेको भन्दै त्यहाँका युवाहरु प्रदूषण नियन्त्रण तथा सभ्यता संरक्षणमा स्वतःस्फूर्त रूपमा जुटेका हुन् ।
गौरादहको पहिचान बोकेको कृष्णीघाट ( नाम परिवर्तित सिस्ने पुल ) परिसरमा रहेको मानव दाहसंस्कार स्थल कृश्निघाट प्रयोग गर्नेहरूले उत्सर्जन गरेको फोहोरहरू यत्रतत्र छरिएका र त्यसले त्यहाँको वातावरण प्रदूषण बढेको भन्दै प्रदूषण नियन्त्रणका लागि युवाहरूले उक्त स्थल परिसरमा आज मङ्गलवार बिहान सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए ।
घाटस्थल वरपर उत्सर्जन हुने फोहोर हरूको व्यवस्थापन नगरिए आगामी दिनमा यो स्थिति अझ विकराल बन्ने स्थानीय युवाहरूले बताए । अभियानमा गौरादह नगरपालिका वडा न २ अन्तरगतका ५ वटै टोल विकास संस्थाका अध्यक्ष लगायत स्थानीय युवाहरू परिचालित भएका थिए ।
सरसफाइ कार्यक्रममा वडा न २ का वडा अध्यक्ष गोपाल प्रसाद कोइराला र वडा सदस्यहरूको समेत उपस्थिति रहेको थियो । वडाध्यक्ष कोइराला सहितको टोली एकाबिहानै हातमा झाडु र सरसफाइ सामग्री लिएर घाटस्थल वरपर रहेका मानव उत्सर्जित फोहोर सङ्कलन र व्यवस्थापन गरेको दृश्यले सभ्यता संरक्षणमा आम नागरिक अग्रसर बन्नुपर्ने सन्देश बोकेको थियो ।
उक्त अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय युवा याम खनालको संयोजकत्वमा ५ सदस्यीय घाटस्थल व्यवस्थापन तथा सरसफाई समिति गठन गरिएको छ । गठित उक्त समितिले सो स्थलको व्यवस्थापन , सरसफाइ र रेखदेख गर्ने गरि विभिन्न गतिविधिहरु सञ्चालन गरिने वडाअध्यक्ष कोइरालाले बताए ।
दमकमा ढल सरसफाई गरिदै
दमकमा दमक नगरपालिकाले मुख्य सहरी क्षेत्रमा रहेका ढललाई सफाइ गर्न सुरु गरेको छ । ढल भरिएर ढलको पानी निकास नहुने र बर्षातको समयमा सडकमा पानी बग्ने भएपछि बर्षात अगावै ढल सफाइ गर्ने काम सुरु गरिएको दमक नगर प्रमुख रामकुमार थापाले बताए ।
केही समय पानी पर्न साथ ढल भरिएर पानी बाहिर सडकमा आएर सडक नै खोलो जस्तो बन्ने गरेको भन्दै आलोचना हुँदै आएको थियो । ढलको निकास पनि नहुने र ढल सफाइ नहुँदा झनै समस्या हुने गरेको बताईन्छ । “बर्षात अगावै हामी दमकका अधिकांश ढल सफाइ गरिसक्छौँ,” नगर प्रमुख थापाले भने । बर्षातबाट जोगिनका लागि पूर्वतयारी अन्र्तगत नै ढलको सफाइ गरिएको पनि जनाइएको छ ।
दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङका अनुसार ढलमा प्लास्टिक, सिसालगायतका अन्य विभिन्न फोहोरजन्य सामग्रीहरूले ढल भरिँदा समस्या भएको स्थानीयको गुनासो आएपछि सफाइ गरिएको जनाए । पानी पर्दा ढल भरिएर फोहोर छरपस्ट हुने अवस्था नआओस् भनेर सफाइ गरिने तयारी रहेको उनको भनाइ छ ।
पहिला बनाइएका ढलहरूको निकास नभएको र अहिले सडकभन्दा होचो भएकाले पनि समस्या हुँदै आएको प्राविधिकहरूको ठम्याइ रहेको छ ।
दमक ७ का वडाध्यक्ष एवं पूर्वाधार विकास समितिका संयोजक भीम पौड्यालका अनुसार अब बन्ने ढललगायतका पूर्वाधारहरूलाई गुणस्तरीय र निकाससहितको बनाउने बताए । पुरानालाई पनि कसरी मापदण्डमा ल्याउन सकिन्छ भनेर छलफल चलाइरहेका उनले सुनाए ।
पुरिएका ढलको सफाइ, ढकन नभएका ढलमा ढकनको व्यवस्थापन गर्नेलगायतका काम सुरु भएको पौड्यालले जनाए । “बनिसकेका संरचनालाई भत्काएर नयाँ बनाउन समस्या हुने र खर्चिलो हुने भएकाले हामीले त्यसैलाई कसरी सहि सदुपयोग गर्न सकिन्छ भन्ने सोचेका छौँ,” उनले भने ।