कांग्रेस सांसद मोहन बस्नेतसहित १८ जना विरुद्ध मुद्धा

झापा,१ जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस नेता समेत रहेका सांसद मोहन बस्नेतविरुद्ध टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको भन्दै मुद्दा दायर गरेको छ ।
आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा उनीसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले उनीसहित नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।अख्तियारले बस्नेतलाई १७ वर्ष कैद सजाय र १० करोडभन्दा बढी भ्रष्टाचार मुद्दामा सजाय माग गरेको छ ।

सांसद बस्नेत निलम्बित

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद हुन् अख्तियार दुरुपयोग अनुसन्धान

आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.