झापा,२ जेठ । ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।सोही स्थानको रमिते भिरको ठाडेखोला नजिक खानेपानीको पाईप बनाउने क्रममा लडेर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए ।
करिब पाँच सय मिटर तर खसेर टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागि गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । रुम्जाटार अस्पतालमा शव परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।
दुई दिन अघि मोलुङ गाउँपालिका–३ का करिब ७३ वर्षीय जितबहादुर सुनुवारको पनि भिरबाट लडेर ज्यान भएको थियो । बाख्रा गोठालो जाने क्रममा मसिने डाँडाभिरबाट लडेको ढुङ्गाले लाग्दा सुनुवारको घटनास्थलमै ज्यान गएको थियो । दुवै वटा घटनाका विषयमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।