कमलको वाणी माविमा ‘प्रअ नियुक्ति’मा लफडा, शैक्षिक गतिविधि प्रभावित

दमक,२ जेठ । झापाको कमल गाउँपालिका – ६ गोहावारीस्थित वाणी माध्यमिक विद्यालयमा तीन जनाले प्रधानाध्यापक आकांक्षी देखाएपछि दुई महिनादेखि शैक्षिक गतिविधि प्रभावित बनेको छ ।
तीनजनाले आफूलाई प्रधानाध्यापक दाबी गरेपछि विद्यालयको नयाँ विद्यार्थी भर्ना , दिवा खाजा कार्यक्रम, राष्ट्रिय परीक्षा बोेर्डमा पठाउनु पर्ने विद्यार्थीको प्रयोगात्मक परीक्षाको अंक, शिक्षक कर्मचारीको तलव भुक्तानीजस्ता अति आवश्यक कामहरु प्रभावित बनेको हो ।
प्रअ नियुक्तिका लागि विद्यालय व्यवस्थापन समिति ,विद्यालयका शिक्षक र गाउँपालिकाका बीचको तालमेल मिल्न नसक्दा विद्यालयमा यस्तो समस्या देखिएको हो । स्रोतका अनुसार विद्यालय व्यवस्थापन समितिसंगको विवादका कारण प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले राजीनामा दिएर तेजनाथ भट्टराईलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए । डाँगी वर्षदिनमा शैक्षिक अवकासका क्रममा थिए । तर, डाँगीले निमित्त दिएका भट्टराईलाई प्रअ नियुक्तिमा सिफारिसको सटा विद्यालय व्यवस्थापन समितिले अर्का शिक्षक जगन्नाथ फागोलाई प्रधानाध्यापक नियुक्त गरेपछि विवाद चुलिएको हो । विवादका वीच प्रअका लागि सिफारिस गरिएका समितिको पत्र शिक्षा समितिले रोकेको थियो ।
निमित्तको जिम्मेवारी पाएका भट्टराई मर्यादाक्रममा समेत सिनियर भएका कारण उहाँलाई नियमानुसार प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने कतिपय शिक्षकहरुको भनाई छ ।
पछिल्लो समय केहि शिक्षकहरुले भने राजीनामा दिएका डाँगीलाई नै पुनः प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्ने माग राखेर पालिकासम्म पत्राचार गरेका छन् । विद्यालयका एक शिक्षकका अनुसार प्रअ नियुक्ति विस्तारै लफडा बनेर गए यसले समग्र विद्यालयमानै समस्या पार्न सक्ने भएकाले पनि त्यसको समाधानका लागि पुनः डाँगीलाई नियुक्ति गरे समस्या एकहदसम्म समाधान हुने छ । दुई जनाको विकल्पमा डाँगी सरलाई पुनः प्रअको जिम्मेवारी दिनुपर्ने ती शिक्षकको भनाई छ ।
प्रधानाध्यापकमा तीनजनाको दाबी आएपछि विद्यालयको कामकाज दुई महिनादेखि प्रभावित बनेको विद्यालय व्यवस्थापन समितिका सदस्य भिम पौडेल स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, –‘शिक्षकहरुवीच सहमति नबन्दा विद्यालय प्रअ नियुक्तिमा समस्या देखिएको हो ,यो ठिक होइन ’
विस २०२२ सालमा स्थापना भएको यस विद्यालयमा २७ जना दरवन्दीका शिक्षक कार्यरत छन् भने ३ सयका हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुदैआएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले गाउँपालिकाले छिटोभन्दा छिटो प्रधानाध्यापकको विवाद समाधान गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाएको बताए । नियमसंगत तथा विवादरहित प्रअ नियुक्ति गर्न समितिलाई पत्रचार गरिएको उनको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिले विवादका वीच प्रअ नियुक्तिको सिफारिस गर्दा समस्या देखिएकाले समितिले शिक्षक अभिभावक संघ, शैक्षिक सरोकारवाला अभिभावकहरु सम्मिलित पुनः बैठक बसेर समस्या समाधानका लागि पहल गर्न भनिएको उनले उल्लेख गरे ।
यसैबीच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाले विद्यालयको प्रधानाध्यापक नियुक्ति सम्बन्धमा देखापरेको अन्योलका कारण अति आवश्यक क्रियाकलापहरु प्रभावित भएको तथा यसबाट आम विद्यार्थीको भविष्यमाथि खेलवाड भएकाले तत्काल समस्याको समाधानको निम्ति विधिसम्मत प्रधानाध्यापक छनोट प्रक्रिया टुंगो लगाएर अन्योलपूर्ण अवस्था निराकरण गर्नका लागि कमल गाउँपालिका शिक्षा शाखाको ध्यानाकर्षण गराएको छ ।
मंगलमय माविमा समेत उस्तै लफडा
यसैगरि, कमल ५ पाडाजुंगीमा रहेको मंगलमय माविमा पनि निमित्त प्रअ र प्रअका जिम्मेवारी नसुल्झदा प्रशासनिक कामकाजमा समस्या देखिएको पाईएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई गत चैत २१ गते विद्यालयका प्रअ मोहन बगालेले मरणासन्न कुटपिट गरेपछि पालिकाले घटनाको विषयलाई लिएर प्रम बगालेलाई निलम्बन गरि निमित्त प्रअको जिम्मेवारी डम्बरुप्रसाद पोख्रेललाई जिम्मेवारी दिएका छन् ।
प्रअ बगालेमाथि पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि एक साता थुनामा परि धरौटीमा छुटेका थिए । मुद्या किनारा नलागेसम्म पालिकाको शिक्षा समितिले प्रअ बगालेलाई प्रअको पुनः जिम्मेवारी दिन नसकिने शिक्षा शाखा प्रमुख न्यौपाने बताउँछन् । बगाले विद्यालयमा हाजिर हुदैआएका छन् ।
तर, लामोसमयसम्म प्रअ निलम्बन र निमित्त प्रअको जिम्मेवारीको लफडा नसुल्झिदा विद्यालयको प्रशासनिक कामकाजमा समस्या बन्दै गएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published.