दमकका पूर्वमेयरका छोरामाथि लाखौं ठगेको आरोप

दमक,१ जेठ। अबैध रुपले विदेश पठाउने धन्दामा संलग्न भएको आशंकामा दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीका छोरा फरार भएका छन् ।नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायामाझी जस्ता शक्तिशाली नेता तथा तत्कालीन गृहसचिवसहितका उच्चपदस्थहरु मुछिएर धमाधम समातिरहेको बेला दमकमा पनि त्यस्तै धन्दामा संलग्न भएको आशंकामा पूर्व जनप्रतिनिधि मुछिएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा दमकका पूर्व मेयर रोमनाथ ओलीका छोरा अनिल माथि अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै १६ जनासँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले अनुसन्धानका लागि पक्राउ गर्न पत्र जारी गरेपछि अनिल फरार छन् । अनिलले ५ जनालाई अस्ट्रेलिया र ११ जनालाई कोरिया पठाइदिने भन्दै पैसा उठाएको आरोप छ । उनले अस्ट्रेलियाका लागि जनही ५ लाखदेखि १५ लाख र दक्षिण कोरियाका लागि १० लाखका दरले लिएको पीडितको दाबी छ । उनीहरूका अनुसार मासिक तलब २ लाख हुने काममा लगाइदिने आश्वासन दिएर पैसा उठाइएको थियो । अस्ट्रेलिया जाने प्रलोभनमा परेर दमकका छत्रमणि कार्की, दमननाथ ढुंगाना, प्रेमकुमार गुरागाईं, कृष्ण अधिकारी र विराटनगरका आकाश अधिकारीले पैसा बुझाएका हुन् ।

त्यसैगरी दक्षिण कोरिया पठाइदिने भन्दै अनिलले झापा, कमलका इन्द्रप्रसाद सिटौला, सुमन सिटौला, निशा तिम्सिना, रोहित तिम्सिना, पुष्प तिम्सिना, गणेश खनाल र दमकका गीता खरेल, गणेश देवकोटा, वेदराज कार्की, सुरुङ्गाका टीका मैनाली र काठमाडौंका देवराज घिमिरेसँग पैसा उठाएको पीडितको दाबी छ । ‘दक्षिण कोरियामा राम्रो काममा लगाइदिन्छु भनेर हामीलाई विश्वास दिलाए । सबै काम आफैं मिलाइदिने भनेपछि विश्वास गरेर मैले १० लाख रुपैयाँ बुझाएँ,’ दमकका वेदराज कार्कीले भने, ‘भिसा आइसक्यो भनेर लखनउसम्म पु¥याए । लखनउमा अलपत्र परेपछि मात्र ठगिएको थाहा भयो ।’ उनले ऋण गरेर अनिललाई पैसा बुझाएको सुनाए ।

अनिल एमाले अध्यक्ष केपी शर्मा ओलीका नाति हुन् । ‘पूर्वप्रधानमन्त्री केपी ओलीको नाति, पूर्वमेयरका छोरा भएकाले अस्ट्रेलिया पठाउँछन् होला भन्ने भयो । धेरै केरकार र कुराकानीपछि अनिललाई विश्वास ग¥यौं,’ दमक–२ का कृष्ण अधिकारीकी श्रीमती जमुना निरौला अधिकारीले भनिन्, ‘तर, अनिलले हामीलाई नक्कली कागजपत्र देखाएको रहेछ ।’ ठगीबारे पूर्वमेयर रोमनाथलाई जानकारी गराउँदासमेत आफूहरूले पैसा फिर्ता नपाएको निरौलाले सुनाइन् । ‘हामीले अनिललाई असोज–कात्तिकमै १५ लाख रुपैयाँ बुझाएका हौं । ठगीमा परेको थाहा पाएपछि मंसिरमै पूर्वमेयरलाई जानकारी दिएका थियौं,’ उनले भनिन्, ‘तर उहाँहरूले त्यस्तो हुनै नसक्ने भन्दै हामीलाई नै हप्काइदप्काइ गर्नुभयो ।’

पूर्वमेयर रोमनाथले पीडितहरूले छोरालाई फसाएको आरोप लगाए । अस्ट्रेलिया र दक्षिण कोरिया पठाउने भनेर अनिलले नभई काठमाडौंका श्रीबहादुर गुरुङले ठगी गरेको उनको दाबी छ । ‘उनीहरूलाई श्रीबहादुरले अस्ट्रेलिया र कोरिया पठाउने भनेको हो । उनीहरू ९पीडितहरू० लखनउमा श्रीबहादुरसँगै एक महिनासम्म बसेका थिए,’ रोमनाथले भने, ‘श्रीबहादुर अन्जान मान्छे भएकाले चलाखी गरेर अनिलको बैंक खाता प्रयोग गरी पैसा उठाएका हुन् ।’ अनिलले भने वकिल राखेर लिखित कागज गरी पीडितबाट रकम बुझेका छन् । २०७९ कात्तिक १५ को लिखित कागजमा पठाउन नसके कात्तिक मसान्तभित्रै रकम फिर्ता गरिदिने भनिएको छ ।

रोमनाथले छोरा आफ्नो सम्पर्कमा नरहेको दाबी गरे । ‘दुई साता भयो अनिलसँग हाम्रो सम्पर्क छैन । यो केस हाम्रो काबुबाहिर छ । मिलाउन सक्ने मेरो हैसियत छैन,’ उनले भने । उक्त मुद्दामा श्रीबहादुर गुरुङ दुई महिनाअघि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट पक्राउ परेका उनलाई जिल्ला कारागार झापामा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.