दमक,३० बैशाख । दमकको सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुरयाँएको भन्दै अग्रजद्धय उद्धबबहादुर राई र मनोज साङपाङ राई सम्मानित भएका छन् ।किराँत राई यायोक्खा दमक नगर समितिले उभौली पर्वको अवसरमा सोमबार दमक–१ बुद्ध चोकस्थित किराँत राई यायोक्खाको माङखिम (मन्दिर) साकेला थान परिसरमा आयोजित कार्यक्रममा दुवै अग्रजलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।
उद्धबहादुर यायोक्खा झापाका पूर्वउपाध्यक्ष तथा दमक ८ का पूर्व वडा सदस्य हुन् ।त्यस्तैं, साङपाङ दमकमा पुराना शैक्षिक क्षेत्रका अगुवा हुन् । उनको नेतृत्वमा तीन दशक अघि दमक–१ मा चुलाचुली अंग्रेजी माध्यमिक विद्यालय स्थापना भई सञ्चालित छ । उनी विद्यालयसंगै यायोक्खाको संस्थागत विकासमा लामो समयदेखि क्रियाशिल छन् ।
यायोक्खा दमक नगर अध्यक्ष बासुदेब राईको अध्यक्षता तथा यायोक्खा १ नम्बर प्रदेशका अध्यक्ष पारषमणि राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राई जातिको परम्परागत नृय साकेला सिलीसंगै महिलाहरुका लागि सियोधागो खेल र पुरुष–महिलहरुका लागि हण्डीफोर खेल खेलाइएको थियो ।
कार्यक्रममा दमक–१ वडाध्यक्ष हरिप्रसाद न्यौपाने, सम्मानित व्यक्तित्व उद्धबबहादुर राई, दमक–१ पूर्वअध्यक्ष ताराप्रसाद अधिकारी, यायोक्खा झापाका सचिव सुसन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रापप्रसाद तिम्सिना, थुलुङ डेन्टलकी सञ्चालिका डाक्टर सोफिया थुलुङ राई, दमक–७ स्थित इष्टन स्टार माध्यमिक विद्यालयका संस्थापक तथा प्रिन्सिपल एलडी राई, धिरेन लाओती, महेन्द्र चाम्लिङ राई, एमएस राई, किराँत याक्थुङ चुम्लुङ दमकका अध्यक्ष देबेन्द्र चेम्जोङ, पत्रकार अनिलदेब राई लगायतको उपस्थिति थियो ।
कार्यक्रममा दमक–५, दमक–८, दमक–६, दमक–१, दमक–७ र दमक नगर समितिका साकेला टोलीहरुले साकेला सिली (नृत्य) प्रदर्शन गरेका थिए ।यायोक्खा दमक नगर सचिव बीरेन राईले सञ्चालन गरेका थिए भने उपाध्यक्ष धनजीत राईले स्वागत मन्तव्य राखेका थिए ।