अन्तर कलेजस्तरीय क्रिकेटको उपाधि दमक बहुमुखीले जित्यो

कमल,३० बैशाख । नेपाल बिद्यार्थी संघले झापाको कमलमा आयोजना गरेको जिल्लाव्यापी अन्तर कलेजस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ ।नेविसंघ कमल गाउँ समितिले निर्माणाधिन आदिवासी रंगशालामा सञ्चालन गरेको प्रतियोगिताको फाइनलमा काँकरभिट्टा बहुमुखी क्याम्पसलाई २४ रन अन्तरले हराउँदै दमकले उपाधिमाथि कब्जा जमाएको हो । दमकले १०४ रन बनाएको थियो भने काँकरभिट्टा ८० रनमा सिमित भएको थियो ।

उपाधिसँगै दमक बहुमुखी क्याम्पसले नगद १५ हजार रुपैयाँ राशीको पुरस्कार ट्रफी र मेडल हात पारेको छ भने उपविजेता काँकरभिट्टाले १० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगिताको विजेता टिमलाई नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले नगद पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरे । उपविजेता टिमका खेलाडीहरुलाई नेविसंघ झापाका सभापति सञ्जय निरौलाले पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सो प्रतियोगिताको म्यान अफ दि म्याच दमक बहुमुखी क्याम्पसका सुरज न्यौपाने र म्यान अफ दि सिरिज काँकरभिट्टाका आशिक रानामगर घोषित भए । उनीहरुलाई पनि नगद पुरस्कार र मेडल प्रदान गरिएको छ ।
नेविसंघ कमल गाउँ समितिका सभापति जितेन साम्पाङ राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, कमल १ का वडाध्यक्ष केदार कटुवाल, नेविसंघ झापाका सभापति निरौला, जिल्ला नेता नवराज ढकाल र कमल नगर जेसीजका अध्यक्ष रिजु कार्कीले पनि शुभकामना मन्तव्य राखेका थिए । शुक्रबार शुरु भएको सो प्रतियोगिताको उदघाटन कांग्रेस झापाका सभापति देउकुमार थेवेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.