बिर्तामोड,३० बैशाख । नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया चयन भएका छन् । शनिवार विर्तामोडमा सम्पन्न महासंघको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको वन्दसत्रले मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा विष्णु लामिछाने, सचिवमा नरेश खरेल, कोषाध्यक्षमा शरद जोशी, सहकोषाध्यक्षमा भारती राई रहेका छन् । त्यस्तै सदस्यहरुमा लोकेश ओली, विगम श्रेष्ठ, विष्णुकुल श्रेष्ठ रहेका छन् ।
नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (बिनोद)को अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य अमित खम्बुले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भुमिका सुब्वालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल खेलकूद पत्रकार मञ्च झापाको अध्यक्षमा निर्वाचित महासंघका उपाध्यक्ष इन्द्रजीत मुखिया र हिम्लुङ हिमाल आरोहण गर्ने महासंघका शरद जोशीलाई सम्मान गरिएको थियो ।सोही कार्यक्रममा बिर्तामोड नगरपालिकाको सहयोगमा फोटो पत्रकारिता तालिमसमेत प्रदान गरिएको थियो ।
यसैवीच, नवनिर्वाचित अध्यक्ष मुखियाले आफुलाई इलामबाट झापा ल्याएर यो स्थानसम्म पुर्याउनुहुने आफ्ना स्वर्गीय दाजु काजीमान मुखियाको स्मृतिमा फोटो पत्रकारीता पुरस्कार स्थापना गर्ने घोषणा गरे ।