देशभर ६४ प्रतिशत मतदान( फोटोफिचरसहित )

कमल ५ मंगलमय मावि मतदान केन्द्रमा मत खसाल्दै एक मतदाता

झापा,३० बैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिए । ‘कतिपय ठाउँमा अहिले पनि मतदान भइरहेको छ, अहिले देशभरको यकिन तथ्यांक आइसकेको छैन, तर हामीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको छ,’ उनले भने ।

उनका अनुसार काठमाडौंमै ५२ प्रतिशतमात्रै मतदान भएको छ । ‘यो प्रारम्भिक तथ्यांक हो, यो बढ्न पनि सक्छ । तर हामी यो तथ्यांकमा खुसी छैनौँ, यो आयोगले अनुमान गरेकोभन्दा फरक तथ्य हो,’ उनले भने । आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको उनले बताए ।

देशैभरका ३२ मतदानस्थलको निर्वाचन प्रभावित
देशैभरका ३२ मतदानस्थलमा निर्वाचन प्रभावित भएको छ । शुक्रबार बिहान सात बजेदेखि सुरु भएको मतदानमा ३२ स्थानको निर्वाचन प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
‘देशैभरका ७५३ स्थानीय तहमा मतदाता, उम्मेदवार वा अन्य विविध कारणले ३२ मतदानस्थलको निर्वाचन प्रभावित भयो। त्यसमध्ये कतिपय स्थानमा सहमती भएपछि मतदान प्रक्रिया सुरु भएका थिए’ थपलियाले भने,‘स्थगित भएको मतदान केन्द्रको तथ्यांक संकलन गरी राखेका छौं। सबै संकलन गरेपछि यकिन तथ्यांक भन्छौ।’
मतदाता र उम्मेदवारमा असल राजनीतिक संस्कार नहुँदा मतदान प्रक्रिया प्रभावित भएको थपलियाले वताए ।

कमल ५ मंगलमय मावि मतदान केन्द्रमा मत खसालेर फर्कदै कांग्रेसका वयोवृद्ध नेता पूर्णानन्द शर्मा

Leave a Reply

Your email address will not be published.