दमक,२९ बैशाख । झापाको कमल गाउँपालिका वडा न. ७ बिष्णुकठ्ठामा रहेको सिंहदेवी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियाननै सञ्चालन गरिएपछि विद्यार्थीको आर्कषण बढ्दै गएको छ ।
खस्किएको विद्यालयलाई उकास्न स्थानीय अभिभावकहरुको सक्रियता पछि विद्यार्थीको आर्कषण आउन थालेको हो । विद्यालयको भौतिक पूर्वाधारसंगै शैक्षिक सुधारका कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिएपछि विद्यार्थीको चाप समेत बढ्दै गएको हो ।
विद्यालयमा वडा सदस्य हिमा नेपालीको अध्यक्षतामा अन्तरिम विद्यालय व्यवस्थापन समिति संगै स्थानीय अभिभावकहरुको अगुवाईमा ओमनाथ तिम्सीनाको अध्यक्षतामा छुट्टै सात सदस्यीय एक अभिभावक समन्वय समिति गठन गरिएको छ ।
त्यही समन्वय समितिको पहलमा विद्यालयमा शैक्षिक सुधारका लागि अंग्रेजी माध्यमको पठनपाठन शुरु गरिएको उनले जनाएका छन् । ‘कक्षा ५ सम्म अंग्रेजी माध्यममै पढाई शुरु गरेका छौं’ उनले थपे , –‘अव आगामी शैक्षिक सत्रदेखि कक्षा ६ अपग्रेड गरि अंग्रेजी माध्यममा नै पठनपाठन सञ्चालन गर्नका लागि आवश्यक तयारी गरेका छौं ।’
विद्यालयमा चार जना शिक्षकको दरवन्दी रहेपनि हाल दुई जना शिक्षक मात्र कार्यरत छन् । पछिल्ला पाँच,छ बर्ष यता निकै खस्किएको विद्यालयले निजी विद्यालयसंग प्रतिष्पर्धा गर्न नसक्दा कुल २५ जना विद्यार्थीमा सिमीत हुन पुगेको थियो । त्यतिका विद्यार्थी पनि विद्यालय नियमित आउन छाडेका थिए ।
विद्यालय अन्यत्र गाभ्नु पर्ने अवस्था आएपछि पूरानो विद्यालयका शाख राख्न स्थानीय अगुवाहरुले विद्यालयको सुधारमा जुट्न बाँध्य हुनुपरेको विद्यालय समन्वय समितिका सचिव सन्तोष राईले वताए । उनले विद्यालयको शैक्षिक सुधार ल्याउन स्थानीय बासिन्दा ,स्थानीय सरकार, प्रदेश सरकारको साथ र सहयोगबाट विद्यालयले एकैवर्ष उच्च फड्को मार्न सफल भएको ठान्छन् । भन्छन्, –‘हामी सवैको प्रयासवाट यस विद्यालय पालिकाकै नमुना बन्ने अवस्थामा पुगेको छ ’
उनका अनुसार विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न निजीतर्फवाट ८ जना शिक्षक राखेर पढाई शुरु गरिएको छ । अहिले अंग्रेजी माध्यममा पढाई शुरु गरिएपछि विद्यार्थीको संख्या समेत करिव २५० पुगेको छ । ‘नजिकका नीजि बोर्डिङ स्कुल छाडेर धेरै जना यहाँ भर्ना भएका छन् ’ विद्यार्थी विस्तारै आर्कषण बढ्ेसंगै दरवन्दीमा शिक्षक मिलान र नीजिवाट थप दुई शिक्षक राख्ने कार्य समेत भइरहेको उनले वताएका छन् ।
नीजिका शिक्षकलाई धान्न विद्यालयले अंग्रेजी माध्यमका विद्यार्थीहरुसंग अत्यन्त न्यून शुल्क उठाउने तय गरिएको छ । ‘त्यो शुल्क होइन,सहयोग शुल्कका लिदै आएको छ ’अध्यक्ष तिम्सीनाले अभिभावकहरुसंगको परामर्शमा नीजिका शिक्षक धान्न यस्तो व्यवस्था गरिएको वताए ।
२०३० सालमा स्थापना भएको यस विद्यालयमा पछिल्ला समय स्वच्छ खानेपानीका लागि धारा जडान गर्नुका साथै प्लेग्रुप,नर्सरी कक्षामा मन्टेश्वरी माध्यममा पढाई शुरु गरिनुका साथै विद्यार्थीहरुका लागि खेलकुद तथा मनोरञ्जनका संरचनाहरु पनि तयार भईसकेका छन् ।