युवाहरुमा राजनीतिक वितृष्णा बढ्दा मुलुकनै संकटमा फस्नेमा चिन्ता

दमक,२९ बैशाख । झापाको दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले युवाहरुमा राजनीतिक वितृष्णा बढदै जाँदा मुलुकनै संकटमा फस्न सक्ने सम्भावना औंल्याउँदै चिन्ता व्यक्त गरेका छन् ।
युवाहरुमा विदेशप्रतिको आकर्षण रोकेर स्वदेशमा गरिखाने वातावरण मिलाउन नसके विदेश पलायनले मुलुकको भविष्यनै डामाडोल बन्ने खतरा रहेको उनीहरुको निष्कर्ष छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदको आयोजना र दमक जेसीजसँगको सहकार्यमा आज यहाँ भएको कार्यक्रममा युवाहरु स्वयं कसैको प्रयोगको माध्यम बन्नु राम्रो नभएको उनीहरुको जोड छ ।
राष्ट्रिय युवा परिषदका कार्यकारिणी उपाध्यक्ष सुरेन्द्र बस्नेतले २०७८ को जनगणना अनुसार १६ देखि ४० बर्ष उमेर समूहका युवाहरुको संख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै युवाहरु भविष्यका आधार मात्रै नभएर अंशियार समेत भएको औल्याए । उनले युवाहरु देशको समृद्धिका लागि राज्य र समाजका हरेक अंगसँग सहकार्य गर्न तयार रहेको बताए । उपाध्यक्ष बस्नेतले भने,–‘ वैदेशिक मोहका कारण भविष्यमा आइपर्न सक्ने चुनौतीको समयमै आंकलन गरेर देशको मुल नीतिको मुहान राजनीतिलाई सुधार्नु पर्ने अवस्था आएकाले पनि अव यस्ता मुद्यामा समेत युवाहरुको ध्यान जानुपर्छ । ’
राजनीतिक दलहरुका मुल नेतृत्वलाई सही ट्रयाकमा हिडाउन र सच्याउन युवाहरुले रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा उनको भनाई छ ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले युवाहरु नक्कली भुटानी शरणार्थीको प्रकरणमा राँको लिएर सडकमा उत्रिनुपर्नेमा चुपचाप बसेको भन्दै गुनासो गरे । उनले भने– ‘यतिबेला युवाहरु राँको लिएर चोकमा निस्किनुपर्नेमा चुपचाप बस्नु ठिक नभएकाले जनदबाबका लागि सडकमा उत्रनु पर्ने बेला भईसकेको छ । ’
राप्रपाका कोशी प्रदेश अध्यक्ष समेत रहेका थापाले नक्कली शरणार्थी प्रकरणमा भइरहेको छानबिनको प्रशंसा नगरे पनि सडकमा युवाहरु विरोधका लागि उत्रिनु पर्ने धारणा राखेका थिए । युवाहरुको शीर्षकमा कुनै पार्टीका कार्यकर्ताहरुलाई आफूले पैसा नबाँडने पनि थापाले उल्लेख गरे ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले राम्रो र सकारात्मक कामका लागि युवाहरुले खबरदारी गर्नुपर्ने औल्याईन् ।
उनले स्थानीय सरकारमा अल्पमत र बहुमतको गलत अभ्यास हुँदा विभिन्न महत्वपूर्ण समितिहरुमा आफूले जिम्मेवारी पाउन नसकेपनि आफनो दृष्टिकोण र योजनाहरुका बारेमा युवा पुस्तामाझ बहस र छलफल गर्दै अघि बढने दृढता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठले युवाहरुलाई आर्थिक तथा व्यवसायिक क्षेत्रमा जोडनु नितान्त आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालहरुमा आउने नकारात्मक बिषयहरुका कारण युवा पुस्ता अलमलिने खतरा रहेको औंल्याए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले युवाहरु प्रयोगका साधन मात्रै बन्न नहुने बताउँदै गलत तत्वका बिरुद्ध युवा आवाज बुलन्द गरिनु आवश्यक भएको धारणा राखे ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले युवाहरुलाई आर्थिक समृद्धिको बाटोमा डोहोरयाउने स्पष्ट नीति र कार्यक्रमको खाँचो औंल्याए ।
यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले पनि व्यवसायमा युवाहरुको आकर्षणलाई टिकाइ राख्न र मुलुकको समृद्धिका लागि युवा जनशक्तिको भुमिका महत्वपूर्ण हुने चर्चा गरे ।
दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य गोकूल श्रेष्ठलाई सम्मान समेत गरिएको महासचिव रामचन्द्र अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published.