दमक,२९ बैशाख । नेपाली कांग्रेस दमक ५ ले शुक्रवार नयाँ वर्षको भित्तेपात्रो बिमोचनसहित विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कांग्रेस दमकस्थित पार्टी कार्यालयमा एक कार्यक्रम गरि नयाँ वर्ष २०८० को भित्तेपात्रोको बिमोचन गर्नुका साथै पार्टी नगर कार्यालयका पूराना कर्मचारी चन्द्रबहादुर अधिकारीको विदाई गरिएको हो । अधिकारी विगत २५ बर्षदेखि कार्यालय सहयोगीका रुपमा काम गरिआएका थिए ।
सोहि अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठ र महाधिबेशन प्रतिनिधि नेतृ मन्दरा चिमरिया पौडेललाई समेत सम्मान गरिएको वडासभापति चैतन्य बरालले बताए ।
दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका तरुण दल क्षेत्र न. ५ का सभापति श्रेष्ठ हालै महासंघको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यस्तै,नेतृ पौडेल दमक ९ स्थित दमक बालबृद्धाश्रमकी हालै सम्पन्न साधारणसभाबाट अध्यक्षमा चुनिएकी थिइन् ।
उक्त आश्रम दमक २ मा रहेको हाम्रो बाल बृद्धाश्रम र दमक ९ स्थित अनाथ बाल बृद्धाश्रम एकापसमा गाभिएर दमक बाल बृद्धाश्रम निर्माण गरिएको हो ।
उनीहरुलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूले विदाई तथा सम्मान प्रदान गरेकी थिइन् । कार्यक्रमकी प्रमुख आतिथि समेत रहेकी नेतृ लिम्बूले पार्टी संगठनमा हरेक कार्यकर्ताको योगदान रहे मात्र पार्टी बलियो हुने औल्याईन् ।
त्यस्तै, कांग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, नगर सभापति प्रकाश प्रसाई, प्रदेश सभा ( २) का सभापति रवि केसी लगायतले बोलेका पार्टी वडासचिव धर्म ढुंगानाले बताए ।
दमक ९ मा वडाभेला
आजनै नेपाली कांग्रेस दमक ९ ले पनि भित्तेपात्रो वितरण तथा वडा भेला सम्पन्न गरेको छ ।स्थानीय गुम्बाको सभाहलमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि कांग्रेस कोशी प्रदेश समितिकी सदस्य तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटटराई प्रसाई रहेकी थिइन् ।
वडासभापति युवराज कोइरालाको अध्यक्षतामा भएको भेलामा वडाउपसभापति महेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कांग्रेसकी प्रदेश सदस्य चन्द्रा खड्का भटटराई, जिल्ला सदस्यहरु मेनुका बुढाथोकी,दिलु सुव्वा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका पूर्व वडासभापति राजकुमार गौतम लगायतले बोलेका वडा सचिव मनितलाल धिमालले बताए ।