आमाको स्मृतिमा आश्रम तथा दिर्घरोगीलाई सहयोग

दमक,२८ बैशाख । झापा,कमल गाउँपालिका वडा नं ७ मेमेङ टोल निवासी स्वर्गीय गौमाया बेघा केरुङको दोश्रो बार्षिक पुण्य तिथीको अवसर पारेर उनको सम्झनामा परिवारले विपन्न, असहाय तथा बिरामीहरुलाई नगद तथा खाद्यन्न सहयोग गरेका छन् ।
बिहिबार परेको पुण्य तिथीको अवसर पारेर पति गणेश केरुङसहित जेठी छोरी शान्ता, कान्छी चेसुङ ,छोराहरु भिम ,आइतराज, ओमप्रकाश र विरहाङ केरुङले दमक र लखनपुरमा गरी ६० हजार बढीको नगद तथा जिन्सी सहयोग गरेका हुन् ।
सो परिवारले दमक ९ स्थित दमक बालबृद्धाश्रममा नगद पाँच हजारसहित चामल, तेल,दाल, केराउ,सावुन, चिनीसहित सरसफाईका विभिन्न सरसामानहरु प्रदान गरेका छन् । स्वर्गीय गौमायाकी छोरी ज्वाइँ चेसुङ लिम्बू र बिष्णु सुब्बाले आश्रमकी अध्यक्ष मन्धरा पौडेल, कोषाध्यक्ष मेनुका बुढाथोकीसहितलाई नगदसहित ती सामग्री हस्तान्तरण गरे ।
त्यसैगरी , उनका परिवारजनले दमक ४ स्थित रत्नजेष्ठ बृद्धाश्रममा पनि चाम, तेल, दाल, सोयाबिन, साबुन लगायतका सामाग्री हस्तान्तरण गरेका थिए । त्यस्तै सोही स्मृतिमा दमकका दुई जना दिर्घरोगीलाई घर घरमै पुगेर जनही १० हजारका दरले कूल २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । स्वर्गीय गौमायाकी छोरी चेसुङले दमक ५ की १३ बर्षिया मिर्गौला बिरामी कुसुम लिम्बू र दमक ७ की १५ बर्षिया देविका तामाङको उपचारका लागि सो सहयोग रकम हस्तान्तरण गरिन् ।
त्यसअघि आमाको स्मृतिमा कमल ७ गेउरियास्थित किरात युमा माङहिमलाई समेत उनका परिवारले नगद ११ हजार १ सय रुपैया प्रदान गरेका थिए ।सहयोग हस्तान्तरण कार्यक्रममा परिवारका सदस्यसंगै सामाजिक व्यक्तित्व गणेश प्रसाद गौतम,नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमकका सचिव डिल्ली अधिकारी,पत्रकार विष्णु पौडेल लगायतको समेत उपस्थिति रहेको थियो ।
दिवंगत आमाकी कान्छी छोरी चेसुङ सुव्वाका अनुसार उक्त सहयोग रकम हङकङमा बस्दैआएका जेठी छोरी शान्ता र छोराद्धय आइत ,ओमप्रकाशले उपलव्ध गराएका हुन् भने माङहिमलाई भने कान्छी छोरीले सहयोग जुटाएका थिए । वर्षदिन अघि मात्र केरुङ परिवारले आमाको स्मृतिमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पुरयाँउन उद्देश्यले दुई वटा अक्षयकोष समेत खडा गरेका छन् । त्यस्तै, कमल ७ बिष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयमा समेत एउटा अक्षयकोष स्थापना गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published.