धरान,२७ बैशाख । धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ ।
गत मङ्गलबार धरान–१३ स्थित कृषि बजारमा विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइ धरानले तरकारीमा विषादी जाँच गर्ने क्रममा मकवानपुर जिल्लाको पालुङवाबाट आएको दुई हजार चार सय १२ केजी फूलकोपीमा ९७.४०१४ प्रतिशत भन्दा बढी विषादि भेटिएपछि नष्ट गरिएको थियो ।
धरानको कृषि बजारमा दैनिक ५० टनभन्दा बढी हरियो सागसब्जी फलफूल आयात हुन्छ भने १०० टनभन्दा बढी कारोबार हुने गरेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराई बताए । गत पुस महिनादेखि नियमित विषादी परीक्षण गर्दै आएकोमा पहिलो चोटी विषादीयुक्त तरकारी भेटिएको उनले बताए । विषादी भेटिएपछि जेकजाँचको दायरा बढाएर हरियो तरकारीहरु मात्र नभएर फलफूलहरूको पनि दैनिक विषादी परीक्षण गर्न थालिएको व्यवस्थापक भट्टराई बताए ।
परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम भएमा उपभोग योग्य हुने, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म भए केहि दिन राखेर पुनः परीक्षण गरी खान योग्य देखिएमा उपभोग गर्न सकिने र ४५ प्रतिशतभन्दा बढी देखिएकोमा खान अयोग्य हुने भएकाले तुरुन्तै नष्ट गर्नुपर्ने प्रावधान रहेको छ । कृषि थोक बजारमा विषादीको जाँच कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीहरूको मात्र परीक्षण हुने भट्टराईको भनाई छ ।
धरानको कृषि बजारमा फलफूलभन्दा बढी मात्रामा भारत र चाइनाबाट ल्याइने गरिएको छ भने खरबुजा भने नेपालबाट नै आउने गरेको छ । त्यस्तै हरियो तरकारीहरू पूर्वी पहाड, तराई, पश्चिमको मकवानपुर, धादिङ, काभ्रे र भारतबाट कृषि बजारमा आइपुग्ने गरेको छ ।
धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघाले विषादीले मानिसको स्वास्थ्यमा धेरै असर गर्ने भएकाले अब दैनिक रूपमा कृषि बजारमा विषादी चेकजाँच नगरी तरकारी बेच्न नपाइने बताउँछन् । हाल हामीले तरकारी, फलफूलको निरन्तर परीक्षण गरिरहेका छौँ, मानिसको स्वास्थ्यमा असर हुने गरी लापरबाही गर्न नहुने र विषादी परीक्षण नगरी तरकारी फलफुल बेच्न नपाइने उनको भनाई छ । ‘‘यसलाई हामीले कडाईको साथ हेरिराछौं’’ उपप्रमुख बेघाले बताए ।