
दमक,२६ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेबाट वडा सदस्यका एक जना उम्मेदवार पार्टी त्यागेर गठबन्धनका पक्षमा समाहित भएका छन् ।
संयुक्त गठबन्धन प्रचार समितिले आज दमकको आयोजना गरेको चुनावी सभामा बोल्दै दमक ७ का वडा सदस्यका उम्मेदवार गुमानसिंह तामाङले पार्टी त्याग गरि संयुक्त गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।
उनले एमाले विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा,जनता समाजवादी पार्टी,राजपासहितका साझा गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीहरुसंग आग्रह गरे ।
तामाङ एमाले दमक नगर सचिवालय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदका अध्यक्ष हुन् ।
एमालेले जालझेल,झुठा आश्वासन बाढेर जनताका वीचमा सस्तो लोकप्रियता मात्र बनाएको भन्दै उनले अहिले जनता परिवर्तनका पक्षमा भएकाले आफूले गठबन्धनमा समाहित भएको उनको भनाई थियो । एमाले छाडेका युवा नेता तामाङ स्वतन्त्र रहने उल्लेख गरेका छन् ।
यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नगर प्रमुखमा राप्रपाका राम थापा, उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई (प्रसाई ) सहितका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।