समाचार लेखेकै कारण धम्क्याइएकोमा महासंघको आपत्ति

विर्तामोड,२७ बैशाख । नेपाल पत्रकार महासंघ झापाले अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कार्वाहीको धम्की दिइएको घटना प्रति आपत्ति जनाएको छ ।
महासंघका जिल्ला सचिव डिकेश लामाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानूनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चारमाध्यमको नामै किटान गरेर धम्क्याउँदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रता विरोधी भएको महासंघको ठहर रहेको जनाइएको छ ।
महासंघले यस्ता कार्य आगामी दिनमा नदोहोर्याउन सचेत गराउँदै त्यस्तो कार्यमा संलग्नलाई कानूनी कार्वाहीको दायरामा ल्याउन माग गरेको छ ।
पुहाँतु माविका केही शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच विवाद रहेको छ । सोही विषयमा पत्रकार ज्ञानेन्द्र निरौलाले सेतोपत्र अनलाइनमा समाचार लेख्नु भएको थियो । समाचारप्रति आक्रोश व्यक्त गर्दै विद्यालयकै शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् तथा नेपाल प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष समेत रहेका पत्रकार निरौलालाई कार्वाही गरिनु पर्ने फेसबुकमा लेखेका थिए ।

Leave a Reply

Your email address will not be published.