प्रदर्शनकारीहरु आक्रामक बन्दा गोली चलाउन बाँध्य : प्रहरी

झापा, २७ बैशाख । झापाको दमकमा हिजो साँझ राँके जुलुसका क्रममा प्रदर्शनकारीहरु आक्रामक बन्दा प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएको प्रहरीले स्वीकार गरेको छ ।प्रहरीको गोली लागेर कमल गाउँपालिका– १ स्थित चुलाचुलीका गजेन्द्र फागो घाइते भएका छन् । उनको गोडामा गोली लागेको हो । त्यस्तै प्रदर्शनकारीतर्फ अर्जुनधाराकी निर्मला क्षेत्री लिम्बू, उर्लाबारीका सूर्य माझी र मातृका धिमाल पनि घाइते भएका छन् । लिम्बू र फागोको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । राँके जुलुसमा प्रदर्शनकारीहरु आक्रामक बन्दा प्रतिकारमा प्रहरीले एक राउन्ड गोली चलाएको र सो गोली फागोको गोडामा लागेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा १९ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रहरीले ५ राउन्ड डमी फायर, ५ राउन्ड सर्टगनको छर्रा र एक राउन्ड गोली प्रहार गरेको डीएसपी रिजालले जानकारी दिए । झडपमा नेपाल प्रहरीतर्फ १२ र सशस्त्रतर्फ ३ गरी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामा, इन्स्पेक्टरहरू देवानन्द मिश्र, जीवन गौतम , प्रहरी सहायक हवल्दार शिवकुमार चौधरी, प्रहरी हवल्दार टंकबहादुर राई,प्रहरी जवान कमल श्रेष्ठलगायत रहेका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका प्रहरी सहायक हवल्दार चौधरीलाई उपचारका लागि गोल्डेन हस्पिटल विराटनगर पठाइएको छ । अन्यको दमकको लाइफलाइन र एडभान्स हस्पिटल दमकमा उपचार भइरहेको डीएसपी रिजालले बताए । त्यस्तै सशस्त्रतर्फ वरिष्ठ हवल्दार रामलाल ताजपुरिया, हवल्दार समन्त्र राई र जवान तुलसी श्रेष्ठ घाइते भएको सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । घाइतेमध्ये दायाँ गालामा चोट लागेका हवल्दार राईलाई थप उपचारका लागि विराटनगर पठाइएको एसपी अर्यालले बताए ।

कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार पहिचान पक्षधरहरुले दमकमा राँके जुलुस प्रदर्शन गरेका थिए । जुलुसमा प्रदर्शनकारीहरूले प्रहरीमाथि राँको, इँटा र ढुङ्गा प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published.