झापा ,२६ बैशाख । झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत शुक्रवार घरमै मृत भेटिएका छन् । बिर्तामोड–१ स्थित आफ्नै निवासमा बस्नेत झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बस्नेत थुप्रै संघ–संस्थामा आवद्ध थिए । उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत थिए । स्व. बस्नेतका श्रीमती अधिबक्ता कोपिला बस्नेत हुन् भने एक छोरी एमवीवीएस अध्ययनरत छिन् ।
बस्नेत नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, ’एकका लागि एक’ अभियानका सहसंयोजक, समाज झापाका अध्यक्ष, र सयपत्री ट्रेड लिंकलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानका सञ्चालकसमेत रहेका थिए ।५२ वर्षे बस्नेतको मृत्यु घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।