विराटनगर ,२७ बैशाख। कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दावी पेश हुन लागेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखतपछि मुख्यमन्त्री नियुक्त भई शपथ ग्रहण हुनेछ । आजै कार्कीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने संभावना रहेको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए । माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।
एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।
नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए । सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए ।
केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।
२०८० असोज २७ गते केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेर मुख्यमन्त्री बनाएका थिए ।
हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी गरिरहँदा मुख्यमन्त्री केदार कार्की भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् ।