दमक,२६ बैशाख । झापाको कमल गाउँपालिकामा यहि बैशाख २९देखि ३० गतेसम्म सञ्चालन हुने जिल्लास्तरीय अन्तरकलेज क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । नेविसंघ कमल गाउँसमितिको आयोजनामा लखनपुरस्थित आदिवासी रंगशालामा हुने प्रतियोगितामा जिल्लाका करिब एक दर्जन कलेजहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
सो प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेविसंघ झापाका नेता समेत रहेका आयोजक टिमका जितेन साम्पाङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन् । प्रतियोगितामा काँकरभिट्टा, विर्तामोड, भद्रपुर, दमकसहित विभिन्न कलेजबाट टिमहरु सहभागी हुनेछन् । आयोजक समितिले खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । प्रतियोगिताका माध्यमबाट बिद्यार्थीहरुबीच आपसी मित्रता प्रगाढ बनाउने र क्रिकेट खेल र खेलाडीहरुको बिकासमा प्रोत्साहन मिल्ने आयोजकले विश्वास लिएको छ । प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र गौरीगञ्ज क्याम्पसबीच प्रतिष्पर्धा हुने छ ।