झापा,२६ बैशाख । झापा गाउँपालिकाका गरिव, विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ । झापा गाउँपालिका, सहारा नेपाल र ह्याविटाट फर ह्यूमानिटीको त्रिपक्षीय लगानीमा निर्माण भएको घर हस्तान्तरण गरिएको हो । सोमवार एक समारोहका बीच समुदायलाई घर हस्तान्तरण गरिएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
गाउँपालिकाभित्र बसोबास गरिरहेका गरिव, विपन्न २३८ परिवारलाई घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, सहारा नेपालका कार्यकारी प्रमुख गिरी र ह्याविटाटकी राष्ट्रिय निर्देशक एलिजा स्थापितले घरको साँचो हस्तान्तरण गरेका हुन् ।
नागरिकको मौलिक हलको रुपमा रहेको आवासको हक पुरा गर्न तीनै निकायको सहकार्यमा घर निर्माण गरिएको हो । न्यून आय भएका, बस्न योग्य घर नभएका परिवारको छनौट गरि घर उपलब्ध गराइएको छ । ह्याविटाटले प्राविधिक एवम् सामाजिक परिचालनमा सहयोग गर्दै स्थानीय तह र सहारा नेपालको सहयोगमा घर निर्माण गरिएको हो । यसअघि ६०३ वटा घर निर्माण सम्पन्न गरिसकिएको छ ।
झापा गाउँपालिका विपद्का हिसावले पनि ठुलो जोखिममा रहेको भन्दै दातृ निकायले सो पालिकामा समुदायको आवास निर्माणमा सहयोग गरेका हुन् । आर्थिक वर्ष ०७७–७८ मा १३३ घर निर्माण गरिएको थियो । उक्त आवमा २ लाख २८ हजार ९९ रुपैयाँ, आर्थिक वर्ष ०७८–७९ मा १२५ घर निर्माण गरिएको थियो । सो आवमा २ लाख ४५ हजार २८८ रुपैयाँ लगानी गरेर घर निर्माण गरिएको थियो ।
स्थानीय तहहरुको सहयोगमा ह्याविटाट र सहारा नेपालले गरिव, विपन्न परिवारका लागि आवास निर्माण गर्दै आएका छन् ।