कमलमा गठबन्धनको चुनावी सभा, गठबन्धनले क्लिन स्विप गर्ने उदघोष

केरखा,२६ बैशाख । झापाको कमल गाउँपालिकामा संयुक्त गठबन्धनले आसन्न स्थानीय तह निर्वाचन लक्षित अन्तिम वृहत चुनावी सभा गरेको छ ।
सोमबार नेपाली कांग्रेस नेतृत्वको गाउस्तरीय चुनाव प्रचार प्रसार समितिले केरखा बजार परिसरमा आयोजना गरेको सभामा गाउपालिकाका ७ वटै वडाबाट पार्टी कार्यकर्ता तथा सर्वसाधारण , शुभेच्छुकहरु हजारौंको संख्यामा सहभागि भएका थिए ।
चुनावी सभालाई नेपाली कांग्रेसका महामन्त्री एवं प्रखर वक्ता विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री राम कार्की ( पार्थ) , कांग्रेस झापाका सभापति देउकुमार थेवे , अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ लगायतले सम्बोधन गर्दै देशैभर गठबन्धनको पक्षमा उर्लदो लहरले प्रतिगामी शक्तिहरु तिल्मिलाएको बताए ।

राष्ट्रिय तथा स्थानीयस्तरमा आवश्यकता अनुसार परिवर्तनकारी शक्तिहरु एकठाउमा उभिदा संयुक्त गठबन्धन निर्माण भएको चर्चा गर्दै गठबन्धनले आम नागरिकहरुको भावनाको प्रतिनिधित्व गरेको पनि वक्ताहरुको भनाई थियो । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा देशभर परिवर्तकारी शक्तिलाई कुनैपनि देशी विदेशी तथा प्रतिगामी तत्वहरुले रोक्न नसक्ने नेताहरुको उदघोष थियो ।
एमाले अध्यक्ष खडग ओलीको पकड भएको क्षेत्र भनेर एमालेजनहरुले दाबी गरेको झापा क्षेत्र नं ५ का सबै पालिकाहरुमा अघिल्लो निर्वाचनमा नै जनलहर उल्टिसकेको फेहरिस्त प्रस्तुत गर्दै वक्ताहरुले यसपटकको निर्वाचनमा क्षेत्र नं ५ का सबै पालिकामा संयुक्त गठबन्धनले क्लिन स्विप गर्ने उदघोष गरे ।
सो अवसरमा गाउपालिका अध्यक्षका प्रत्यासी हुकुमसिंह राईले अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले लाल किल्ला तोडेको स्मरण गर्दै गोलाप्रथाबाट आफू बाहिरिएपनि कमल गाउबासी मतदाताको सहानुभूति , सदभाव र मायाले आफूलाई हौसला मिलेको बताए । उनले विगतको निर्वाचनपछिका हरेक बर्ष गाउपालिकाका नजिकका , नातेदार र आफना भजनकर्ताहरुको मात्रै पृष्ठपोषण गर्ने कार्यक्रमहरु ल्याएर आम कमलबासीको भावनामाथि खेलबाड गरेको पनि जिकिर गरे । कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य समेत रहेका युवा नेता राईले स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई कमल गाउपालिकाका जनप्रतिनिधिले राजनीतिक प्रतिशोधको भावना राखेर जनतासामु प्रभावकारी कार्यान्वयन नगराएर अन्याय गरेको पनि उल्लेख गरे । कृषि, स्वास्थ्य लगायतका अनुदान र विकासका योजनाहरुमा तत्कालिन जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको पनि नेता राईको दाबी थियो । उनले आफनो कार्यकालमा गाउँपालिका क्षेत्रमा ठुला बिकासे योजनाहरुको चाङ लगाउन सक्ने क्षमता आफूले राख्ने पनि दाबी गर्दै स्वास्थ्य, शिक्षा , कृषि र स्वरोजगारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
कमल गाउपालिकामा कांग्रेसले अध्यक्ष, माओवादी केन्द्रले उपाध्यक्षसहित जनता समाजवादी पार्टी, संघीय लिम्बुवान मञ्च , नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल तथा सहकार्य भएको छ । चुनाव प्रचार प्रसार समितिका सभापति बुद्धिराज न्यौपानेको सभापतित्वमा भएको सो सभामा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद महेन्द्रकुमारी लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक लिम्बु लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महेन्द्र बुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.