
दमक ,२६ बैशाख । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरि भोलि मंगलबार रातिदेखि नेपाल भारत सीमाना पूर्णरुपमा बन्द गरिने भएको छ । २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सम्पूर्ण सीमानाका बन्द गरिने प्रहरीले जनाएको छ ।
सीमाना जोडिएका जिल्लाका प्रहरी कार्यालयले सीमा नाका पूर्णरुपमा बन्द हुने जानकारी गराइसकेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका सम्पूर्ण नाका तीन दिन बन्द हुने जानकारी गराएको हो ।
निर्वाचनमा सुरक्षाका कारण तीन दिन सीमानाका ठप्प गर्न लागिएको हो । भारतमा निर्वाचन हुँदा पनि नेपालसँग जोडिएका सबै सिमानाका बन्द गरिन्छ ।
देशभित्रै पनि मतदानको दिन अत्यावश्यक बाहेकका यातायात चल्ने छैनन् । ३० गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दमकल, दुरसञ्चार, शव वाहन, विद्युत सेवा जस्ता अत्यावश्यक र अनुमति लिएका यातायात मात्रै सञ्चालन गर्न पाइने छ । अन्य सार्वजनिक तथा निजी सवारीसाधन बन्द गरिने गृहमन्त्रालयले जनाएको छ ।